नक्कली चिकित्सक प्रहरीको फन्दामा
काठमाडौं, ३ असार । केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोलीले नक्कली प्रमाणपत्र भएको आशंकामा वीरगञ्जबाट ९ जना चिकित्सक आज पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोलीले आज बीरगंजको बिभिन्न स्थानबाट नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सकहरुलाई पक्राउ गरेको हो । काठमाडौबाट बीरगंज पुगेका सिआईवीका प्रहरी नायब उपरीक्षक फिरोज बस्नेत नेतृत्वको टोलीले नारायणी उपक्षेत्रीय अस्पतालमा अर्थोपेडिक्सका रुपमा कार्यरत डाक्टर सरोज सिंह, बालरोग विशेषज्ञ डाक्टर कुशराज गिरी, डाक्टर पनालाल पटेल, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश साह, डाक्टर महम्मद रुहुल्लाह, डाक्टर अरुण कुमार गुप्ता, डाक्टर विनोद साह, डाक्टर इरसाद अहम्मद र डाक्टर निमेषरमण पाललाई पक्राउ गरेको हो ।
पक्राउ परेका चिकित्सकलाई केही समय जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर सिआईबीले काठमाडौँ ल्याएको छ । यसैबीच प्रहरीले चिकित्सकहरुलाई नियन्त्रणमा लिएको विरोधमा आज दिउँसोदेखि वीरगंजका अस्पताललगायतका स्वास्थ्य संस्थाहरु बन्द भएका छन् । काठमाडौबाट आएको सिआइवीको टोलीले वीरगंजका ९ जना चिकित्सकहरुलाई विना सूचना पक्राउ गरेको भन्दै नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, गण्डक अस्पताल लगायतका अस्पतालहरुको आकस्मिक सेवा कक्षबाहेक सबै सेवा बन्द गरेका छन् ।
यसैगरी औषधी व्यवसायी संघले समेत चिकित्सकहरु पक्राउको विरोधमा वीरगंजका औषधी पसलहरु बन्द गरेको मेडिकल एशोसियसनका उपाध्यक्ष डाक्टर प्रमोद सर्राफले जानकारी दिनुभयो । सीआईवीले उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सा पुगेलगत्तै ठूलो संख्यामा चिकित्सकहरुको टोली जिल्ला प्रहरी कार्यालयमा पुगेपनि पक्राउ परेकाहरुसँग प्रहरीले कसैलाई भेटन दिएनन् ।