संसदीय सुनुवाइ बिहिबारबाट
काठमाडौँ, २० असार । संसदीय सुनुवाइ विशेष समितिले असार २३ गतेदेखि संवैधानिक निकायमा प्रस्तावित पदाधिकारीको संसदीय सुनुवाइ गर्नेगरी प्रारम्भिक कार्यतालिका तयार पारेको छ । समिति सचिवालयले तयार पारेको कार्यतालिका आउँदो मङ्गलबारको समिति बैठकमा पेस हुनेछ । सचिवालयले तयार पारेको कार्यतालिका अनुसार सुनुवाइ प्रक्रिया अगाडि बढे आउँदो बिहीबार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस डा. अयोधिप्रसाद यादवको सिफारिसमा सुनुवाइ हुनेछ ।
समिति सचिव ध्रुवप्रसाद घिमिरेले मङ्गलबारको बैठकमा सचिवालयले तयार पारेको सुनुवाइको कार्यतालिका पेस हुने बताउनुभयो । उक्त बैठकमा पदाधिकारीविरुद्ध परेका उजुरी समितिमा सार्वजनिक हुनेछन् । उजुरी सार्वजनिकसँगै उक्त बैठकले सुनुवाइको कार्यतालिकालाई अन्तिम रूप दिनेछ ।
प्रस्तावित कार्यतालिका अनुसार असार २१ गतेको बैठकमा पदाधिकारीविरुद्ध परेका उजुरी समितिमा पेस हुनेछन् । समितिमा पेस भएका उजुरीमा समितिले प्रारम्भिक छलफल गरेपछि आवश्यक परेमा उजुरकर्तासँग पनि छलफल गर्नेछ । सचिवालयले तयार पारेको कार्यतालिका अनुसार असार २२ गते उजुरकर्तासँग छलफल गर्नेछ ।
सचिवालयको तयारी अनुसार असार २३ गते प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका डा. अयोधिप्रसाद यादवको सिफारिसमा सुुनुवाइ हुनेछ । सुनुवाइपछि उक्त दिनकै दोस्रो बैठक वा असार २४ को बैठकले यादवको सिफारिस सम्बन्धमा निर्णय गर्नेछ ।
सिफारिसको रोलक्रमकै आधारमा सुनुवाइ गर्ने प्रारम्भिक प्रस्ताव समितिको छ । प्रधानन्यायाधीशमा सिफारिस सुशीला कार्की र न्यायाधीशको सुनुवाइ एकसाथ अगाडि बढाउने तयारी समिति सचिवालयको छ । तर, निर्णय भने प्रधानन्यायाधीशको पहिले गर्ने कार्यतालिका सचिवालयको प्रस्ताव छ । सिफारिस रोलक्रम अनुसार राजदूतहरूको भने अन्तिममा मात्र सुनुवाइ हुनेछ । दैनिक चार जनाका दरले प्रस्तावित राजदूतको सुनुवाइ गर्ने प्रारम्भिक खाका सचिवालयले बनाएको छ ।