परिवार दलको महाधिवेशन शूरु

२०७३ असार २१ गते, मंगलवार

काठमाण्डौ, २१ असार। ‛असल परिवारः समृद्ध नेपाल, अग्रपन्थी लोकतन्त्रः हाम्रो मूल मन्त्र’ भन्ने नारा सहित नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुरु भएको छ । महाधिवेशन उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । अधिबेसनलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले आगामी एक वर्षभित्र मुलुकको सङ्क्रमणकालीन अवस्था समाप्त गर्न राजनीति सहमति अपरिहार्य रहेको बताए । उनले विगतमा टुटेका सहमतिलाई नयाँ ढङ्गबाट सहकार्यमा पु-याउन वर्तमान सरकार कटिबद्ध भएको बताए ।
प्रधानमन्त्री ओलीले मुलुकमा आन्दोलनको औचित्यता समाप्त भइसकेको बताउँदै आन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागत विकासका लागि एकताको खाँचो आँैल्याए । अधिबेसनमा राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा आबद्ध हुन आग्रह गर्दै अहिले नेपालीले विवेकको प्रदर्शन गर्ने समय आएको बताए । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले एकापसमा सहमति र सहकार्यबाट मात्र राजनीति सङ्क्रमण अन्त हुने बताए । नेकपा (माओवादी केन्द्र)का सचेतक हितराज पाण्डेले संविधानको सफल कार्यान्वयनले मात्र मुलकको भविष्य निर्देश गर्ने बताए ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार मधेसका माग समाधानमा अग्रसर नभएको आरोप लगाए । भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालको विकास स्वयम् नेपालीले नै गर्ने हँुदा यहाँका जनता र राजनीति पार्टीबीच देखिएको मतभेद अन्त्य गर्दै सहमति र सहकार्यको बाटो अवलम्बन नै संविधान कार्यान्वयनको महत्वपूर्ण कडी भएको बताए । भारतीय राष्ट्रिय काँग्रेसका नेता आलोक शर्माले नेपाल र भारतको सम्बन्ध अनुपम रहेको उल्लेख गर्र्दै नेपालीले नकारात्मक सोचाइभन्दा सकारात्मक चिन्तन गर्नुपर्ने समय आएको बताए ।

आम आदमी पार्टी भारतका नेता प्रणीव कुमारले विकास आपसी मतभेदबाट नभई एकताबाट मात्र सम्भव छ भन्नुभयो । परिवार दलले आफ्नो घोषणापत्रमा शान्ति, एकता र विकासलाई मूल आधार बनाएको छ । महाधिवेशनमा देशभरका एक हजार १०० प्रतिनिधिको उपस्थिति रहेको दलका अध्यक्ष एकनाथ ढकालले बताए । महाधिवेशनमा बङ्गलादेश र श्रीलङ्काका विभिन्न दलका प्रतिनिधि तथा युनिभर्सल पिस फेडरेसनका प्रमुख व्यक्तिको सहभागिता थियो । महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशन बुधबारसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]