भारतीय प्रहरीका कारण नेपाली त्रसित
काठमाडौं, १ साउन । नेपाल–भारत सीमा क्षेत्रमा गत असार १६ गते एक बालिकाको रहस्यमय तरिकाले मुत्यु भएकै कारण यतिबेला नवलपरासीका पक्लीहवा गाविसमा स्थानीय त्रसित छन् । विशेष गरी सीमापारीका भारतीय सुरक्षाकर्मीको डरका कारण सीमामा बस्दैै आएका नेपाली निकै त्रसित बनेका हुन् । गत असार १६ गते बाख्रा चराउन भनी सीमापारी भारतको महाराजगन्ज जिल्ला चिनलौल थाना, अैरहवा गाउँमा पुगेकी १३ वर्षीया मंगीता कुर्मीको रहस्यमय तरिकाले हत्या भएको थियो ।
यद्यपि, यसरी बालिकाको रहस्यमय तरिकाले मृत्यु भएको दुई साता भइसक्दासमेत यसबारे भारतीय प्रहरी मौन छ । भारतीय प्रहरीले सो घटनाबारे कसैलाई पनि जानकारी दिन खाजेको छैन । साथै, भारतीय प्रहरीले बालिकाको शव परीक्षण रिपोर्टसमेत बालिकाको घरपरिवारलाई बुझाएको छैन । गाउँलेले भारतीय प्रहरीले दोषीलाई बचावट गर्न भारतीय प्रहरी सक्रिय रहेको भन्दै तत्काल न्यायिक छानबिनको माग राखेका छन् । नवलपरासी क्षेत्र नम्बर–६ का सांसद देवकरणप्रसाद कलवारले सीमा क्षेत्रमा भारतीय प्रहरीको ज्यादतीमा नेपाली समुदाय बाँच्न बाध्य रहेको बताए । असार १६ गते बिहान ८ः३० घरबाट बाख्रा लिएर सीमापारी खेतमा बाख्रा चराउन घरबाट निस्किएकी मंगीताको राति करिब ८ः३० बजेतिर खेतमै शव फेलापरेको थियो ।
सीमा क्षेत्रमा विशेष गरी सामान्य खाद्यान्न किनमेलदेखि पशु–चौपाया चराउन सीमापारी भारत जानुपर्ने सीमावर्ती नेपाली समुदायको बाध्यता हो । सो घटनाबारे भारतीय प्रहरीले नवलपरासीको पक्लीहवाका १६ वर्षीय मेराज मिया र २३ वर्षीय गजेन्द्र कुर्मीलाई नियन्त्रणमा लिएर पाँच दिनपछि छाडेको थियो । सोक्रममा आफूहरुलाई भारतीय प्रहरीलाई कुटपिटसमेत गरेको गजेन्द्रकुर्मीले बताए ।
बालिकाका बुबा सुरेन्द्र कुर्मीले आफ्नो छोरीको हत्यामा संलग्नलाई कारबाही गर्न भारतीय प्रहरी मौन बसेकाले न्यायिक छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग राखे ।
बालिकाको मृत्यु भएको स्थान भारतमै पर्दछ । बालिकाको मृत्यु भएको दिन सो क्षेत्रमा भारतीय सुरक्षाकर्मीकोसमेत आवागमन भएको सीमावर्ती नेपालीको भनाइ छ ।
सो घटनालाई सीमावर्ती भारतीय प्रहरीले लुकाउन खोजिएको भन्दै गाउँलेलाई नवलपरासीमा स्थानीय प्रशासन समक्ष उजुरीसमेत गरेका छन् । – रासस