सरकार परिवर्तन गर्ने खेल देशकै लागि घातक : बिजुक्छे

२०७३ श्रावण ५ गते, बुधबार

काठमाडौ, ५ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री हुनकै लागि सरकार परिवर्तन गर्ने खेल देशकै लागि घातक हुने बताएका छन् । आज भक्तपुर नगरपालिकास्थित लिवालीमा निर्माण हुन लागेको भक्तपुर ट्रक व्यवसायी संघको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । उनले भने–‘आफूले प्रधानमन्त्री पाइनँ भनेर सरकारलाई दिएको समर्थन फिर्ता लिनु नै गलत हो, आफ्नो दल सहभागी रहेको सरकारले के गर्न सकेन, प्रधानमन्त्रीले के गर्न नसक्दा सरकार छाड्नुपर्‍यो भनेर प्रस्ट पार्नुपथ्र्यो ।’
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आलोपालो गरेर सरकार सन्चालन गर्ने नीतिसमेत देशको लागि उपयुक्त नभएको भन्दै उनले सरकार सन्चालनमा आलोपालो गर्ने सहमति हुनुभन्दा पनि देश बनाउने नीतिमा सहमति हुनुपर्ने बताए ।
अविश्वास प्रस्तावपछि नयाँ सरकार गठन गर्ने व्यवस्था संविधानमा नभएको बताउँदै नेमकिपाका अध्यक्ष बिजुक्छेले कानुनी ढंगले अगाडि बढ्दा नयाँ सरकार गठन हुन अझै केही समय लाग्ने बताए ।
सरकारमा सहभागी दलले नै कार्यसूचीमा चढिसकेको बजेट विधेयकलाई पारित नगरी अविश्वास प्रस्तावतर्फ पेस गर्नु दुर्भाग्य भएको औंल्याउँदै बिजुक्छेले बजेट विधेयक पारित नगरी ल्याएको अविश्वास प्रस्तावले देशलाई आर्थिक नाकाबन्दीमा पारेको बताए । उनले भने–‘देशमा यस्तो संकट आउने देखेर मैले प्रधानमन्त्रीलाई देश जोगाउनकै लागि भएपनि संसद विघटनको निर्णय लिनोस् भनेको थिएँ ।’
कार्यक्रममा ट्रक व्यवसायी संघका अध्यक्ष महेन्द्र खायमलीले सवारीचालक र मजदुरको अभाव भएकाले व्यवसायलाई समस्या परेको बताउँदै नक्कली सवारीचालक अनुमतिपत्रले समस्या र चुनौती थपेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष केपी अवाल, इँटा व्यवसायी महासंघका उपाध्यक्ष एवं संघका पूर्वअध्यक्ष विश्वराम कवांलगायतले चालकले दुर्घटना गराउने सवारी धनीलाई कारबाही गर्ने प्रवृत्ति गलत भएको बताए ।
संघका पूर्वअध्यक्ष नवीन प्रजापतिले करिब रु दुई करोड २५ लाखको लागतमा निर्माण हुन लागेको चारतले भवन आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेकोे बताए ।

प्रतिक्रियाहरु

[anycomment]