प्रधानमन्त्री चयन गर्न बहुमतीय प्रक्रिया सुरु हुने
काठमाडौ, १७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सहमतिको सरकार सम्भव नभएपछि नयाँ प्रधानमन्त्री चयन गर्न आजदेखि बहुमतिय प्रक्रिया सुरु हुने भएको छ । व्यवस्थापिका–संसदमा सबभन्दा ठूलो दल कांग्रेस र तेस्रो ठूलो दल माओवादी केन्द्रको मुख्य समीकरणमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने तयारी भएको छ । चुनावमा मधेसी मोर्चाअन्तर्गतका दलहरूसमेत सहभागी हुने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने पक्कापक्की बनेको हो ।
संविधानको धारा २९८ (३) मा बहुमतका आधारमा प्रधानमन्त्री चुनिने व्यवस्था छ । राष्ट्रपतिबाट बहुमतीय प्रक्रियासहितको आव्हान भएपछि व्यवस्थापिका–संसद् सचिवालयले प्रधानमन्त्री चुनावको तयारी थाल्नेछ ।
राष्ट्रपतिबाट आव्हान भएको पत्र पाएलगत्तै सचिवालयले नियमअनुसार निर्वाचन तालिका सार्वजनिक गर्ने संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले बताए । आज शीतल निवासबाट पत्र आए पर्सीसम्म निर्वाचन सम्पन्न भइसक्ने उनले जानकारी दिए । भोलि उम्मेदवारको नाम दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली तय हुनेछ । ब्यवस्थापिका संसदको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।