प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराइँदै

२०७३ श्रावण १८ गते, मंगलवार

काठमाडौ, १८ साउन । आज नया प्रधानमन्त्री चयनकालागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि आज बिहान ११ बजेदेखि अपरान्ह चार बजेसम्मको समयावधि तोकेको छ। प्रधानमन्त्रीका लागि कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिने छन् भने विपक्षीमा बस्ने निधो गरिसकेको नेकपा एमालेले भने कसलाई उम्मेदवार उठाउने भन्ने तय गर्न सकेको छैन। एमालेले उपाध्यक्ष बामदेव गौतम वा संसदीय दलका उपनेता एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङमध्ये एकलाई उठाउने तयारी गरेको स्रोतको दाबी छ। प्रचण्डलाई कांग्रेससहित राप्रपा, मधेसी मोर्चामा आबद्ध दलहरुको समर्थन रहेकाले प्रधानमन्त्रीमा निर्वाचित हुने पक्कापक्की जस्तै छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वहुमतीय सरकार गठनका लागि आव्हान गरेकै दिन सोमबार सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीको निर्वाचन साउन १९ गते बुधवारका लागि तय गरेकी हुन्।
सभामुख घर्तीले निर्धारण गरेबमोजिम संसद् सचिवालयले प्रधानमन्त्री निर्वाचनको तालिका प्रकाशित गरेको छ। निर्वाचन तालिका अनुसार मंगलबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ। उम्मेद्वारीको प्रस्ताव साउन १९ गते ११ बजे बस्ने संसद् बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची छ।
सोमबार बसेको बैठकमा सभामुख ओनसरी घर्तीले वहुमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र पढेर सुनाएपछि प्रधानमन्त्री चयनका लागि संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको जानकारी गराएकी थिइन्।

प्रतिक्रियाहरु

[anycomment]