नेवि संघको अध्यक्षमा १६ जनाको दावी
काठमाडौं,२२ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन भोलीबाट सुरु हुँदैछ । करिब नौं बर्ष पछि हुन लागेको महाधिवेशनमार्फत नेतृत्वमा पुग्न अध्यक्षमा मात्र १६ जनाले दावी गरेका छन् । लामो समयपछि हुन लागेको महाधिवेशनमा यति धेरै अध्यक्षका दावेदार देखिए पछि पार्टी नेतृत्वलाई व्यवस्थापन गर्न कठिन देखिएको छ । संगठनको केन्द्रीय तहमा तीन दशक विताएका देखि एकदशक देखि मात्र क्रियाशिल देखिने नेताहरु अध्यक्षको उम्मेद्वारी घोषणा गरेर भोट माग्न व्यस्त छन् ।
अध्यक्षमा दावी गरिरहेकाहरु पनि माउ पार्टीका नेताहरुको फरक फरक खेमाबाट तयारी गरिरहेको बुझिएको छ । यतिबेला प्रष्ट रुपमा चारवटा खेमाले अध्यक्षमा उम्मेद्वारी घोषणा गरिसकेको विद्यार्थीहरुले बताइरहेका छन् । संगठन विभिन्न गुठ तथा उपगुठमा विभाजित भएर उम्मेद्वारी घोषणा गर्ने लहर नै चलेपछि पार्टी नेतृत्वलाई मिलाउन हम्मेहम्मे परिरहेको छ । ‘पार्टीका नेताले नै सिमित विद्यार्थी नेतालाई च्याप्ने, अन्यलाई निषेध गर्ने तथा विभेद गर्ने परिपाटी बसाएकाले समस्या भएको छ,’नेवि संघमा केन्द्रीय सदस्यको दावी गरिरहेका रबिन्द्र रोकायले भने ।
जसको फलस्वरुप यतिबेला अध्यक्षमा मात्र १६ जना उम्मेद्वार देखिएका छन् । मनोजमणी आचार्य, जितजंग बस्नेत, दीपक भट्टराई, नैनसिहं महर, आनन्द त्रिपाटी, कुन्दनराज काफ्ले, निलकण्ठ रिजाल, शुभराम बस्नेत, रत्न कार्की, क्षितिज भण्डारी, राजीव ढुंगाना, लक्ष्मण आचार्य, रामप्रसाद अधिकारी, अमृत पन्थी, दीपक भण्डारी, सरोज थापा, विनीता अधिकारीलगायतले अध्यक्षमा दावी गरेका छन् ।
यसभित्र पनि चार खेमा विभाजित जस्तो देखिएको छ । पुरानो संस्थापन मानिएको पौडेल–कोइराला, नयाँ संस्थापन मानिएको देउवा, तेस्रो धार मानिएको सिटौला र चौथो खेमाका रुपमा खुमबहादुर खड्काले आ–आफ्ना उम्मेद्वारको तयारी गरिरहेको बुझिएको छ । पौडेल–कोइरालाबाट मनोजमणी आचार्य, दीपक भट्टराई, आनन्द त्रिपाटी, निलकण्ठ रिजाल, रामप्रसाद अधिकारी, विनीता अधिकारी, लक्ष्मण आचार्यलगायत छन् ।
यस्तै देउवा खेमाबाट नैनसिहं महर, जितजंग बस्नेत, रत्न कार्की, सरोज थापा, राजीब ढुंगाना लगायतको नाम चर्चामा छ । यता सिटौला खेमाबाट कुन्दनराज काफ्ले अध्यक्षको तयारी गरिरहेका छन् । त्यस्तै चुनावी माहोल तातिएसँगै शुभराम बस्नेतलाई देउवा खेमाले बेवस्था गरेको भन्दै खुमबहादुर खड्काको निकट रहेर अध्यक्षको तयारी गरिहेको बुझिएको छ । स्रोतका अनुसार आनन्द त्रिपाटीले पौडेल–कोइराला र खुमबहादुरको दुवैतर्फबाट साथ पाएको बताइन्छ ।