शहिद विशाल- कुमार स्मृति कार्यक्रम सम्पन्न

२०७३ भाद्र २१ गते, मंगलवार

काठमाडौं । जनयुद्धका शहिद शेरमान कुवँर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा नेकपा (माओवादी) सिन्धुलीले एक कार्यक्रम गरेको छ ।
राजधानीको अनामनगरस्थित संवाद डबलीमा आयोजित कार्यक्रममा विशाल र कुमारले जनयुद्धमा खेलेको भूमिकाको नेताहरुले चर्चा गरेका थिए । नेकपा (माओवादी)का स्थायी समिति सदस्य ईश्वरी दाहाल ‘काका’ले कुमार र विशालको सपना अधुरो रहेको बताउँदै एकीकृति जनक्रान्तिमार्फत उक्त सपना पूरा गर्ने बताए ।
‘जनयुद्धका शहिद कुमार र विशालको सपनालाई कुल्चेर प्रचण्ड आज संसदीय बाटोमा लागेका छन् । उनलाई शहिदको रगतले छुट दिने छैन’ काकाले भने ।
त्यसैगरी अर्का स्थायी समिति सदस्य एवं केन्द्रीय जनपरिषद् प्रमुख सन्तोष बुढाले शहिदको सपनालाई साकार पार्न वर्गीय संघर्ष पूरा गर्न आफूहरु एकीकृत जनक्रान्तिको कार्यदिशामा हामफालेको बताए ।
‘शहिदलाई धोका दिएर आज बाबुराम–प्रचण्ड वर्ग दुश्मनको कित्तामा पुगेका छन्’ विशाल र कुमारसँगको सहकार्यको स्मरण गर्दे प्रमुख बुढाले भने, ‘आमूल परिवर्तनको लागि शुरु भएको जनयुद्धलाई प्रचण्डले एउटा विज्ञप्तिमार्फत समाप्त भएको घोषणा गरेर शहिदहरुमाथि घोर अपमान गरे ।’
पार्टीको केन्द्रीय सदस्य सन्देश पौडेलले जनयुद्ध बुर्जुवा, सुधारवादी, विसर्जनवादी र क्रान्तिकारी धारामा विभाजन भएको बताए । ‘बाबुरामजीले बुर्जुवा, प्रचण्डले सुधारवादी, वैद्यले विसर्जन र विप्लवले क्रान्तिकारी धाराको नेतृत्व गरिरहेका छन्’ सन्देशले भने । उनले नेपालमा लेनिन र माओको तरिकाले मात्र नेपालमा क्रान्ति सम्पन्न नहुने बताए । ‘क्रान्ति सम्पन्न गर्न नेपाली मौलिकताको सिद्धान्त अनिवार्य छ । त्यो भनेको कमरेड विप्लवले अगाडि सारेको एकीकृत जनक्रान्तिको सिद्धान्त नै हो’ सन्देशले भने ।
कार्यक्रममा नेकपा (माओवादी) केन्द्रीय सदस्य चिरन पुन, सिन्धुली–काठमाडौं जनगणतन्त्रिक सम्पर्क मञ्चका अध्यक्ष अर्जुन कटुवाल, छेवाङ तामाङलगायतले विशाल÷कुमारको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रमका अध्यक्ष एवं पार्टीका सिन्धुली जिल्ला सक्रेटरी राजु कार्कीले एकीकृत जनक्रान्तिको कार्यदिशामर्फत सिन्धुलीबाटै विशाल र कुमारको सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
तत्कालीन नेकपा (माओवादी)का केन्द्रीय सदस्य विशाल र वैकल्पिक केन्द्रीय सदस्य कुमारको २०६१ भाद्र २० गते तत्कालीन शाही सेनाले हत्या गरेको थियो ।
कार्यक्रममा शहिद विशालकी छोरी निशा कुवँरलाई सम्मान गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]