पुरानै पार्टीको पुनरावृत्ति नगर्ने डा भट्टराईको उद्घोष
काठमाडौं, २५ भदौ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीले पुरानै पार्टीको पुनरावृत्ति हुने गरी काम नगर्ने बताएका छन । तमु राष्ट्रिय परिषद् नेपालको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले संविधान संशोधन गरी सङ्घीय ढाँचामा लगिनुपर्ने बताए । सबै अग्रगामी सोच राख्ने जाति, समुदाय एकै ठाउँमा बसेर राज्यको पुनःसंरचना गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले विकास र समृद्धिका साझा अवधारणा लिएर देशलाई सुन्दर र शान्त नेपाल बनाउनुपर्नेमा जोड दिए ।
डा भट्टराईले अहिले रोजगारी नपाएर ठूलो जनशक्ति विदेशमा जानुपरेको छ यो देशका लागि खुसीको क्षण होइन भन्दै उनले कृषि, पर्यटन, जलस्रोत र उद्योगका क्षेत्रमा विकास गरी सबै युवालाई यहीँ रोजगारी दिने गरी वातावरण बनाएर पार्टी अघि बढ्ने बताए । उनले नयाँ सोच, विचार राख्दै वैकल्पिक शक्तिका रुपमा आफ्नो पार्टी अघि बढेको र यसलाई सबै नेपाली जनताको साथ रहने विश्वास व्यक्त गरे । तमु राष्ट्रिय परिषद् नेपाल राष्ट्रिय भेलाका संयोजक दुर्गाबहादुर तमुको अध्यक्षतामा भएको सो कार्यक्रममा तमु धीँ नेपालका अध्यक्ष कर्म तमुलगायतका वक्ताहरुले बोलेका थिए । – रासस