सार्क प्रभावकारिता क्षेत्रीय सम्मेलन असोज १३ देखि
काठमाडौँ, ३० भदौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रभावकारिताबारे आउँदो असोज १३ र १४ गते क्षेत्रीय सम्मेलन हुनेभएको छ ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आयोजनामा दुईदिने सम्मेलन नेपालमा हुन लागेको हो । काठमाडौँमा सम्पन्न सार्क घोषणपत्रको कार्यान्वयन र भावी एजेन्डाबारे छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना हुन लागेको हो । क्षेत्रीय एजेन्डामा पहिलोपटक संसदीय समितिले सम्मेलन गर्न लागेको हो । सम्मेलनबारे समितिले सम्पूर्ण तयारी पूरा गरेको छ । सम्मेलनमा सार्क राष्ट्रका पूर्वसरकार प्रमुख पनि सामेल हुनेछन । यस्तै सार्क राष्ट्रका संसद्का अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति वा प्रतिनिधि पनि सामेल हुनेछन । नेपालसहित सार्क राष्ट्रका संसद्का अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापतिले सम्मेलनको दोस्रो सत्रमा भाग लिने छन । अफगानिस्तान, भुटान, बङ्गलादेश, भारत, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तानका संसदीय समिति प्रमुख सहभागी हुनेछन ।
सम्मेलनका दौरान सार्कका विभिन्न विषयमा सातवटा कार्यपत्र पेस हुनेछन् । सार्कका तीन दशक शीर्षकमा फारोक सोवन र आनन्द आदित्यका दुई कार्यपत्र पेस हुनेछन् । यस्तै सार्कको आर्थिक सहयोगका विषयमा डा. शङ्कर शर्माको कार्यपत्र पेस हुनेछ । तीनवटै कार्यपत्र असोज १३ गतेको पहिलो दिनको दोस्रो सत्रमा पेस हुनेछ ।
यस्तै असोज १४ गते जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक महेन्द्र पी लामाले आपसी विश्वास अभिवृद्धिमा सार्कको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्ने बताइएको छन । सार्क कनेक्टिभिटी सन्दर्भमा राजु मल्ल ढकालको कार्यपत्र पनि सोही दिन पेस हुनेछ । सार्कको साङ्गठनिक संयन्त्रको विकासमा पूर्वगभर्नर डा. युवराज खतिवडाको कार्यपत्र पेस हुनेछ ।
सार्कका एजेन्डामा रिभ्यु नभएको र घोषित कार्यक्रम प्रभावकारी नभएको निष्कर्षमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सम्मेलनको तयारी गरेको हो । नेपाल अध्यक्ष राष्ट्र भएकाले एजेन्डा कार्यान्वयनका लागि पहल गर्नुपर्ने र आगामी सम्मेलनका लागि आधार तयार पार्ने सम्मेलनको उद्देश्य छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वमा पाँच सदस्यीय उपसमिति नै गठन गरेर सम्मेलनको तयारी गरेको थियो । उपसमितिले नै सम्मेलनका एजेन्डा, कार्यपत्र, अतिथि, टिप्पणीकारको अन्तिम निर्णय गरेको हो । असोज १३ गते काठमाडौँको सोल्टी होटलमा विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलन उद्घाटन गर्ने बताइएको छ ।