महिला संघमा नयाँ नेतृत्व चयन हुँदै

२०७३ भाद्र ३१ गते, शुक्रबार

काठमाडौ, ३१ भदौ । नेपाल महिला संघमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । काठमाडौंमा जारी तेस्रो महाधिवेशनका क्रममा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको हो । कार्यसमितिका ५६ पदका लागि एक सय ३३ को उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा दुई, महासचिवमा तीन, कोषाध्यक्षमा दुई एवम् खुला, प्रदेश, दलित, जनजाति, मधेसी र मुस्लिम केन्द्रीय सदस्यमा एक सय २६ गरी एक सय ३३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
संघको विधानअनुसार अध्यक्ष एक, महासचिव एक, कोषाध्यक्ष एक, खुला केन्द्रीय सदस्य २२, सात प्रदेशबाट २१, दलित तीन, जनजाति तीन, मधेसी तीन र मुस्लिम एक पदमा निर्वाचन हुँदैछ । दुईवर्षे कार्यकालका लागि हुने निर्वाचनमा मीना पाण्डे र उमा रेग्मीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
महासचिवमा किरणकुमारी सरकार, गोमा केसी र धन खतिवडाको उम्मेदवारी परेको छ । त्यस्तै कोषाध्यक्षमा जानकीदेवी सिंह र कुसुमदेवी थापा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । महाधिवेशनमा २ हजार एक सय ६५ प्रतिनिधिले भाग लिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]