प्रधानमन्त्री आउँदा रातारात सडक दुरुस्त

२०७३ आश्विन ८ गते, शनिबार

काठमाडौँ ,८ असोज । मेलम्चीबाट जिरोकिलोसम्म दैनिकजसो मोटरसाइकलमा ओहोरदोहर गर्ने रेडियो मेलम्चीका पत्रकार देवराज सुवेदी शुक्रबार जिरो किलोदेखि मेलम्ची जाँदै गर्दा चकित परे । अघिल्लो दिनसम्म भैंसी नै डुब्ने खाडल सडकमा भए पनि शुक्रबार भने सडकमा कतै पनि खाडल भेट्टाएनन् उनले । रातारात ग्राभेल गरेर जिरो किलोदेखि मेलम्चीसम्मको सडक दुरुस्त पारिएको थियो । सडक दुरुस्त बनाएपछि अरू बेला मेलम्चीसम्म पुग्न तीन घण्टा बढी समय लाग्ने गरे पनि शुक्रबार भने उनी आधा घण्टामै पुगे । मेलम्ची पुगेपछि सुवेदी भन्दै थिए, ‘प्रधानमन्त्री आउँदा त सडक यस्तो भयो भने राष्ट्रपति आउँदा कस्तो होला ? सधैं यस्तै भ्रमण भइरहोस् ।’
सुवेदी मात्रै होइन, यो सडकमा दैनिक यातायात सञ्चालन गर्ने सवारीचालक र यात्रु पनि रातारात सडक स्तोरन्नति भएपछि दंग परेका थिए । काठमाडौंबाट मेलम्चीसम्म दैनिक बस चलाउने हेलम्बु यातायातका बसचालक राजन श्रेष्ठ भन्दै थिए, ‘आज एक दिन भए पनि खाल्डाखुल्डी नभएको रोडमा बस चलाउन पाइयो ।’ काभ्रेको जिरो किलोदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्म २१ दशमलव ४ किलोमिटर सडक मेलम्ची खानेपानी आयोजनाले ५० करोड खर्च गरेर कालोपत्रे गरे पनि ठेकेदार र आयोजनाको लापर्बाहीका कारण क्षतविक्षत भएकोछ ।
ठूल्ठूला खाडलका कारण यातायातका साधन सञ्चालन गर्न समस्या भएको वर्षाैं भइसकेको छ । स्थानीयले सडक मर्मत गर्न आग्रह गरेको लामो समय भए पनि सडक विभागले कुनै वास्ता गरेको थिएन । तर शुक्रबार एकाएक सडकमा कतै खाल्डा थिएनन्, सडक पनि सफा थियो । ट्रिपरहरू पनि दगुरेका थिएनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल मेलम्ची खानेपानी आयोजनाको सुरुङ निरीक्षण गर्न आउने भएपछि सडक विभागले रातारात खाल्डाखुल्डी पुरेर सडक दुरुस्त बनाएको थियो । ३२ वटा सवारीसाधन लिएर मेलम्ची आइपुगेका प्रधानमन्त्री दाहालसँगै आएका पूर्वमन्त्री अग्नि सापकोटा पनि रातारात सडक सफा भएको देखेपछि छक्क परेका थिए ।
प्रधानमन्त्रीसँगै आएका एमाले केन्द्रीय सदस्य एवं यस क्षेत्रका सांसद शेरबहादुर तामाङले पनि आफ्नै निजी सवारीसाधनमा यसअघि यात्रा गर्दा लामो समय लाग्ने गरे पनि शुक्रबार थोरै समयमा मेलम्ची पुगेको बताए । ‘यो सडकमा राम्रोसँग यात्रा गर्न त दिनहुँ प्रधानमन्त्री नै आउनुपर्ने रहेछ,’ सांसद तामाङले राजधानीसँग भने । इन्द्रावती नदीमा रहेको क्रसर उद्योगबाट उत्पादन हुने गिट्टी, बालुवा, रोडा ढुवानी गर्ने ट्रिपरका कारण कालोपत्रे नसकिँदै सडक क्षतविक्षत भएको थियो । दैनिक ३ सय बढी मालवाहक ट्रिपर यो सडकमा चल्छन् । प्रधानमन्त्री आउने भएपछि सडक विभाग र मेलम्ची खानेपानी आयोजनाले यो सडकमा दुई दिन ट्रिपर सञ्चालनमा समेत रोक लगाएर प्रधानमन्त्रीको सवारीलाई सहज बनाएको थियो । यातायात सञ्चालनमा रोक लगाएपछि दुई दिनदेखि सयौं ट्रिपरहरू काभे्रको जिरो किलोमा थन्किएका थिए ।
सडक विभाग र मेलम्ची खानेपानी आयोजनाले काभ्रेको जिरो किलोदेखि मेलम्चीसम्म रातभर लगाएर ग्राभेल गरेको थियो । इन्द्रावती नदीमा रहेका क्रसरहरूबाट सडक विभागले जबर्जस्ती गिट्टी लगेर सडकका खाल्डाखुल्डी पुरेको एक व्यवसायीले बताए । ‘तपाईंहरूको कारण सडक बिग्रिएको हो, सामान दिनुहोस् भन्दै आफैं उठाएर लगे,’ ती व्यवसायीले भने ।’ प्रधानमन्त्रीलाई हेलिकोप्टरबाटै आउन धेरैले सुझाए पनि स्थलमार्गबाटै आउने भएपछि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले सडक विभागलाई तुरुन्त बाटो सफा गर्न निर्देशन दिएका थिए ।
०७४ असोजभित्र उपत्यकामा मेलम्चीको पानी
मेलम्चीको पानी पिउने राजधानीवासीको प्रतीक्षा अब छिट्टै पूरा हुने भएको छ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाले अबको ६ महिनाभित्र सुरुङ खनिसक्ने दाबी गरेको छ ।
स्थलगत अनुगमन तथा निरीक्षणमा निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मेलम्ची खानेपानी आयोजनाले अबको केही महिनाभित्रै प्रायः सबै काम सम्पन्न हुने जानकारी गराएको छ । शुक्रबार मेलम्ची आइपुगेका प्रधानमन्त्री दाहाल पनि आयोजनाको कुरा सुनेपछि खुसी बनेका छन् । ‘जसरी पनि ६ महिनाभित्र काम सक्नोस्, म पुरस्कार दिन्छु,’ प्रधानमन्त्रीले भने । राजनीतिक तनाव हुनासाथ ‘मुड फ्रेस’ गर्न पटक–पटक सिन्धुपाल्चोक र मेलम्ची क्षेत्रमा आउने गरेका दाहाल दोस्रोपटक प्रधानमन्त्री भएपछि पहिलोपटक खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्न दलबलसहित मेलम्ची आएका थिए । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्ग अम्बाथान पुगेका दाहाल सुरुङभित्र प्रवेश गर्न खोजे पनि सकेनन् । सेतो टोपी लगाएर सुरुङभित्र प्रवेश गर्न खोजे पनि दाहाल भित्र भने जान नसकेका हुन् । सुरुङको मुखैमा बसेर आयोजनाका कर्मचारीलाई भने, ‘अब जम्मा ६ किलोमिटर मात्रै बाँकी रहेछ, महिनामा १ किलोमिटर खनियो भने पनि ६ महिनामा सबै सकिन्छ ।
भूकम्पअघि सन् २०१६ को डिसेम्बरमा आयोजना सम्पन्न हुने लक्ष्य भए पनि भूकम्पले संरचनामा क्षति पुगेपछि पछि धकेलिएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए । ‘हामी ६ महिनामा सुरुङ सक्छांै, ०७४ असोजसम्म राजधानीवासीको धारामा पानी खस्छ,’ भट्टराईले भने । प्रधानमन्त्री दाहालसहित पूर्वमन्त्री अग्नि सापकोटा, सांसद शेरबहादुर तामाङ, सरकारका कामु मुख्यसचिव टंकमणि शर्मा, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव डा. सञ्जय शाहलगायतको अनुगमन टोलीले मेलम्ची खानेपानी आयोजनाको हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएको छ ।
मेलम्ची आयोजनाले हालसम्म ७३ प्रतिशत काम सम्पन्न भएको प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । प्रधानमन्त्री दाहालले कर्मचारी र पदाधिकारीहरूले तदारुकता देखाए आगामी ६ महिनाभित्र मेलम्ची सम्पन्न हुने बताए । ‘तदारुकताका साथ लाग्नुस्, ०७४ वैशाखसम्म मेलम्चीको पानी काठमाडौं पुग्ने देखें,’ दाहालले भने, ‘कहाँ के पुग्दैन, मलाई भन्नुस्, जसरी पनि अबको ६ महिनाभित्र यो राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्नुपर्नेछ ।’ आर्थिक वर्ष ०५५÷५६ मा सुरु गर्ने भनिए पनि मेलम्ची खानेपानी आयोजना त्यति बेला सुरु हुन सकेन । बारम्बार फेरिइरहने ठेकेदार कम्पनी र त्यसमाथि ढिलासुस्ती भएपछि मेलम्ची खानेपानी आयोजना अघि बढ्न सकेको थिएन ।
सुरुङमार्ग निर्माण गर्ने जिम्मा यसअघि चिनियाँ १५ रेलवे ब्युरोलाई दिए पनि केही वर्षअघि एकपक्षीय रूपमा चिनियाँ कम्पनीले ठेक्का तोडेको थियो । चिनियाँ कम्पनीले ठेक्का तोडेपछि इटालिएन कम्पनीलाई सुरुङमार्ग निर्माणको जिम्मा दिइएको थियो । तर पछिल्लो वर्ष मेलम्चीले कार्यप्रगतिमा ठूलो फड्को मारेको छ । मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुङमध्ये झन्डै २० किलोमिटर सुरुङमार्ग निर्माण सम्पन्न भइसकेको छ । अब ७ किलोमिटर बाँकी रहेको आयोजनाको भनाइ छ । कुल २३ अर्ब लागतमा निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको सुरुङ, अडिटमार्ग, प्रवेशमार्ग निर्माण तथा प्रभावित क्षेत्रको सामाजिक उत्थान कार्यक्रममा गरी १८ अर्ब ३३ करोड रुपैयाँ खर्च भइसकेको छ । हेलम्बु गाविसको अम्बाथानमा ड्याम निर्माण गरेर पानी राजधानी लगिनेछ । काठमाडौंको सुन्दरीजलसहित पाँच स्थानबाट सुरुङमार्गको काम भइरहेको छ ।
स्थानीय भन्छन्, पानी लैजाऊ, विकास देऊ
प्रधानमन्त्री दाहालले ६ महिनाभित्र मेलम्चीको पानी राजधानीवासीले पिउन पाउने बताइरहँदा यस क्षेत्रका जनप्रतिनिधिले भने पानी लगेपछि यहाँका स्थानीयले के पाउने भन्ने प्रश्न गरेका थिए । यस क्षेत्रका सासंद शेरबहादुर तामाङले प्रधानमन्त्रीसँग भने, ‘हामीले पानी दियौं, विकल्पमा हामीलाई के दिनुहुन्छ ? प्रधानमन्त्रीज्यू ?’ सासंद तामाङले प्रति क्युसेक ५ रुपैयाँ लेबी प्रभावित क्षेत्रमा दिनुपर्ने माग गरे । हामीलाई रोयल्टीबापत कम्तीमा ५ रुपैयाँ दिनुपर्छ, होइन भने हामीलाई अन्याय हुन्छ,’ सांसद तामाङले भने, ‘हामी काठमाडौंको प्यास मेटाइदिन्छौं यसको साटो यहाँका जनताले विकासको प्यास मेट्न पाउनुपर्छ, रोयल्टीसँगै प्रभावित सडकहरू कालोपत्रे हुनुपर्छ ।’ जवाफमा प्रधानमन्त्रीले ५ रुपैयाँ होइन, त्यो भन्दा बढी नै दिनका लागि लाग्ने बताए ।
– दिनेश थापा /राजधानी दैनिक

प्रतिक्रियाहरु

[anycomment]