मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता
काठमाडौं, १३ असोज । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रस्तावित मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विधेयक फिर्ता लिने निर्णय गरेको छ । सो विधेयक संसदमा विचाराधीन थियो । त्यसैगरी, बैठकले चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)को नाम परिवर्तन गरी मनमोहन स्मृति चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान राख्ने निर्णयलाई स्वीकृति दिएको छ । बैठकले संसदमा विचाराधीन चिकित्सा शिक्षा ऐन पारित नभएसम्म नयाँ सम्बन्धन नदिने निर्णय गरेको छ भने न्याम्सको ऐन संशोधनका लागि संसदमा पठाउने निर्णयसमेत गरेको स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिए ।
न्याम्सको नाम परिवर्तनका लागि प्रस्ताव स्वास्थ्यमन्त्री थापाले राखेका थिए । मन्त्री थापाले बोलाएको न्याम्सको सिनेटको आकस्मिक बैठकले नाम परिवर्तन गर्ने निर्णय गरी स्कीकृतिका लागि पठाएको थियो ।
लामो समयदेखि डा. गोविन्द केसीले उठाएका चार मागमध्येको एउटा माग सरकारले पूरा गरेको छ । चिकित्साशिक्षा र चिकित्साक्षेत्रको सुधारको चारबुँदे माग राख्दै डा. केसी यही असोज १० गतेदेखि नवौं आमरण अनशनमा छन् ।