संविधान संशोधनमा ढिलाइ
काठमाडौ, २८ असोज । संविधान संसोधनका बारेमा सत्ताधारी दल र मधेसी मोर्चाबीच सहमतिको चर्चा भए पनि संशोधनका बुँदाका बारेमा औपचारिक छलफल हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसअघि भारत भ्रमणमा जानुअघि नै सरकारले संविधान संशोधनको बारेमा प्रस्ताव लैजाने तयारी गरे पनि संशोधनका बुँदालाई अन्तिम रुप दिन ढिलाइ भएको भन्दै सत्ताधारी दलले केही दिनमा औपचारिक प्रक्रिया सुरु गर्ने बताएका थिए ।
एक महिना बित्नै लाग्दा पनि संविधान संशोधनको बारेमा मोर्चा र सत्ताधारी दलबीच कुरा मिल्न सकेको छैन भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि सरकारले छलफल गरेको छैन ।
माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने संविधान संशोधन गर्ने विषयमा अनौपचारिक छलफल चलिरहेको बताए । सत्ताधारी दल संविधान संशोधनभन्दा पनि कार्यान्वयनको गृहकार्यमा लागेको भन्दै मधेसी मोर्चाले भने आन्दोलनको चेतावनी दिएको छ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तिहारसम्ममा संविधान संशोधनको प्रक्रिया अगाडि नबढे छठसम्म आन्दोलन गर्नुपर्ने आफूहरुको बाध्यता हुने बताए ।