ब्रिक्स सम्मेलन सकिंदै

२०७३ आश्विन ३० गते, आईतवार

काठमाडौ, ३० असोज । भारतको गोवामा हिजो शुरु भएको ब्रिक्स सदस्य देशहरूको आठौं शिखर सम्मेलन आज सकिंदैछ । हरेक वर्ष आयोजना हुने गरेको दुईदिने सम्मेलनमा क्षेत्रीय संगठन ब्रिक्समा विश्वका पाँच उदीयमान अर्थतन्त्र भएका मुलुक ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासँगै बिमस्टेकका सदस्य राष्ट्र नेपाल, थाइल्यान्ड, बंगलादेश, म्यानमार, भुटान र श्रीलंका पनि सहभागी छन् ।
यसैबीच ब्रिक्स शिखर सम्मेलनकै दौरानमा गोवामा आज बिमस्टेक देशहरुको आउट रिच सम्मेलन पनि गरिंदैछ । आज सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुहुने भएको छ । साथै सम्मेलनपछि साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
बिमस्टेकका सदस्य मुलुकका उच्चस्तरीय प्रतिनिधिहरूले प्रतिआतंकवाद, जलवायु परिवर्तन, वातावरणीय समस्या, प्राकृतिक विपत्तिको व्यवस्थापन, कनेक्टिभिटी प्रवद्र्धन तथा कृषि, ऊर्जा, व्यापार, प्रविधि, पर्यटन, गरिबी निवारण, जनस्तरको सम्पर्कलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘रिट्रिट’ पछि बिमस्टेकका सदस्य देशहरूले घोषणापत्र पनि जारी गर्नेछन् ।

प्रतिक्रियाहरु

[anycomment]