लोकमान प्रकरण संसदमा प्रवेश
काठमाडौ, २ कात्तिक । अख्तियार प्रमुख लाकमान सिंह कार्कीको घरमा सर्वोच्च अदालतलाई म्याद तामेल गर्न नलिएको विषयले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । संसदको मंगलबारको बैठकमा सांसदहरुले अदालतको आदेश तामेली गर्न समेत नदिइनु न्यायिक सर्वोच्चतालाई चुनौति भन्दै सांसदहरुले यसबारे जनप्रतिनिधि मौन बस्न नसक्ने धारणा राखेका हुन् । बैठकमा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले अदालतको आदेशको खुलामखुला अवज्ञा भएको र कानुनी राज्यको उपहास भएको बताए । उनले अदालत र अख्तियार प्रमुखबीचको झञ्झट भनेर आँखा चिम्लन नमिल्ने बताए । उनले सर्वोच्चले एउटा व्यक्तिको म्यादसम्म तामेल गर्न नपाउनु नसक्नु भनेको यसले भविश्यप्रति राम्रो संकेत नगर्ने धारणा राखे । उनले अख्तियार प्रमुख कार्की कुन कामले, कति अवधिका लागि विदेश गएको र कहिलेसम्म फर्कने हो संसदलाई जानकारी गराउन समेत प्रधानमन्त्रीसँग माग गरे ।
विशेष समयमै बोल्दै एमालेका सांसद रेवतीरमण भण्डारीले अदालतको म्याद तामेली गर्न गएका अदालतका कर्मचारीलाई हुलहुज्जतको शैलीमा अवरोध गर्नु न्यायिक सर्वोच्चको अपमान भएको टिप्पणी गरे । त्यस्तै थरुहट पार्टीकी सांसद गंगा चौधरी सत्गौवाले लोकमान सिंहको घरमा म्याद तामेली गर्न नसक्नु लज्जास्पद भएको धारणा राखे ।