संसद् बैठक बस्दै, महाअभियोगका विषयमा छलफल हुने
काठमाडौं, ७ कात्तिक । व्यवस्थापिका संसद्को बैठक बस्दै छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियोगको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची बिहीबारका लागि डाकिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख ओनसरी घर्तीले सूचना टाँस गर्दै आजसम्मका लागि स्थगित गरेकी थिइन् ।
संसदमा महाअभियोगको प्रस्ताव पेश भएपछि प्रारम्भिक छलफल हुने छ । त्यसपछि बैठकले प्रस्तावमाथि अनुसन्धान गर्न महाअभियोग सिफारिस समितिमा पठाउने छ । समितिले कार्यप्रारम्भ गरेको ३० दिनभित्र संसद्मा अनुसन्धान प्रतिवेदन पठाउने छ ।