राष्ट्रपति भण्डारी र मुखर्जीबीचको भेटवार्ता

२०७३ कार्तिक १७ गते, बुधबार

काठमाडौं, १७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार दिउँसो भेटवार्ता भएको छ । त्यस अवसरमा युगौंदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सौहार्दपूर्ण एवं हार्दिकतायुक्त वातावरणमा भएको उक्त वार्तामा दुई मुलुकबीचको ऐतिहासिक, सांस्कृतिक, सामाजिक एवं जनस्तरको सम्बन्धलाई थप सुदृढ तुल्याउनेबारे छलफल भएको थियो ।
राष्ट्रपतिद्वयबीचको वार्ता पारस्परिक हितमा केन्द्रित रहेर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले राससलाई बताए । उनले भने–‘भारतका राष्ट्रपति मुखर्जीले नेपालको संविधान जारी भएकामा राष्ट्रपति भण्डारी, नेपाली जनता र संविधानसभाप्रति बधाइ ज्ञापन गर्नुभयो ।’ भेटवार्तामा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, राष्ट्रपतिका सल्लाहकारहरू, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी उपस्थित थिए ।
त्यसैगरी, भारतका रक्षा राज्यमन्त्री सुभास भामरे, सांसदहरू एल गानेसन, जगदम्बिका पाल, राजकुमार सिंह, भुवनेश्वर कलिता, विदेशसचिव एस जयशंकर, नेपालका लागि भारतका राजदूत रणजीत रायलगायतको उपस्थिति थियो ।
राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी नेपालको तीन दिवसीय राजकीय भ्रमणमा बुधबारै काठमाडौं आएका हुन् ।
त्यसअघि, राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षीलाई आफ्नो कार्यालयमा स्वागत् गरेकी थिइन् । त्यसअघि, नेपाली सेनाको एक टुकडीले शुभकामना धुन बजाएको थियो । १८ वर्षपछि भारतका राष्ट्रपतिबाट नेपालको भ्रमण भएको हो । यसअघि, राष्ट्रपति केआर नारायणनले २०५५ जेठ १४ गते नेपालको राजकीय भ्रमण गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]