५ नम्बर प्रदेश विभाजनविरुद्ध संयुक्त आन्दोलन गर्ने घोषणा
काठमाडौं, १४ मंसिर । सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई अलग्याउने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गर्न लागको विरोधमा आन्दोलनमा उत्रिएका रोल्पा र प्यूठानका जनताले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । सोमबार प्यूठानको भिङ्ग्रीमा बसेको रोल्पा र प्यूठानका संघर्ष समितिहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
केही दिनदेखि छुट्टा–छ्ट्टै आन्दोलन गर्दै आएका रोल्पाली र प्यूठानीहरुले आफूहरुको मागप्रति सरकार संवेदनशील नदेखिएको भन्दै संयुक्तरुपमा आन्दोलन चर्काउने निर्णय गरेका हुन् ।
प्यूठानका पूर्वसांसद मुक्तिप्रसाद शर्माको संयोजकत्वमा गठित दुई जिल्लाका संघर्ष समितिले आगामी १६ गते रोल्पा र प्यूठानको सिमानामा पर्ने चतुर्भुजमा संयुक्तसभा आयोजना गरी आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बताइएको छ । रोल्पा र प्यूठानमा क्रियाशील सबै राजनीतिक दल, उद्योग वाणिज्य संघ, गैरसरकारी महासंघ र पत्रकार महासंघ संघर्ष समितिमा रहेका छन् ।