बुटवल तनाबग्रस्त प्रधानमन्त्रीको राजीनामा माग

२०७३ मंसिर १५ गते, बुधबार

काठमाडौं, १५ मंसिर । बुटवलका विभिन्न ठाउँमा प्रधानमन्त्रीको राजीनामा माग्दै विरोध जुलुस निस्किएको छ । लुम्बिनी अञ्चलका गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लालाई ५ नम्बर प्रदेशबाट ‘अलग’ गरी व्यवस्थापिका–संसद सचिवालयमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेपछि स्थानीय आक्रोशित भएका हुन् । संशोधन प्रस्ताव खारेजको माग गर्दै स्थानीय–विद्यार्थीहरुले चक्काजाम गरेका छन् । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामासमेत माग गरेका छन् । विद्यार्थी विरोधमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ भने त्यस क्षेत्रमा सवारी–साधन पनि चल्न सकेका छैनन् । मधेसी मोर्चाको चित्त बुझाउने नाममा लुम्बिनी अञ्चलका पहाडी तीनओटा जिल्लालाई ५ नम्बर प्रदेशबाट अलग गर्ने प्रस्ताव गरेपछि आक्रोश बढेको हो ।
सरकारी प्रस्तावको विरोध गर्दै गुल्मी, पाल्पा र अर्घाखाँचीमात्रै नभइ रुपन्देही जिल्लामासमेत आन्दोलन चर्किएको छ । पाल्पा, गुल्मी र अर्घाखाँचीको सबैभन्दा पायकपर्ने र सम्बन्ध जोडिएको व्यापारिक केन्द्र रुपन्देही हो । बसोवासका हिसाबले पनि ती जिल्लाका अधिकांशको पारिवारिक सम्बन्ध रुपन्देही, नवलपरासी र कपिलवस्तुमा छ ।
यसअघि, मंगलबार सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बर प्रदेशमा राख्ने गरी संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]