‘श्रम ऐन लचिलो बनाउ’
काठमाडौं, ६ पुस । पुस ५ गते नेपालस्थित विदेशी राजदूतहरुको जुलुसले उद्योग मन्त्री नविन्द्रराज जोशीलाई भेटेर नेपालमा श्रमिक आन्दोलनले विदेशी लगानी आउन नसकेको गुनासो गर्दै श्रम ऐन लचिलो बनाउन र सहजै हायर एण्ड फायर गर्न सकिने बनाउन आग्रह गरेका छन् । हुन पनि नेपालमा समस्या नै श्रमिकको राजनीतिकरणको हो । कुनै उद्योग खुल्यो कि दलहरु टे«ेड युनियन खोल्न पुगिहाल्छन् र साना साना कुरामा पनि तालाबन्दी हड्ताल गर्ने नराम्रो रोग फैलिएको छ । सूर्य नेपालजस्ता ठूला वैदेशिक लगानी नेपालबाट यही समस्या झेल्न नसकेर भागेका हुन् ।
सरकारले फागुन १९ गते विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन गर्दैछ । त्यही सम्मेलनलाई सफल पार्न विदेशी राजदूतहरुको जत्थाले उद्योगमन्त्रीलाई भेटेर श्रम ऐन सुधार्न सुझाएका हुन् ।
अमेरिकी राजदूत अलाइना टेप्लिजदेखि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क), जापान, स्वीडेन, साउथ अफ्रिका, म्यानमार, न्युजल्यान्ड, थाइल्यान्ड, फिनल्यान्ड, चेक रिपब्लिक लगायतका मुलुकका राजदुतहरुको सहभागीता रहेको थियो ।
उनीहरुले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्दै गएकोले नीतिगत र राजनीतिक स्थिरताका साथै लचकदार श्रम ऐन पनि चाडो ल्याउन सके लगानीकर्ताको मनको जोखिम आशंका हट्ने बताएका थिए । यद्यपि मन्त्री जोशीले वैदेशिक लगानी सुरक्षित छ त भने तर कूटनीतिज्ञहरुले पत्याएनन् ।