सर्वाेच्च अदालतमा एमिकस क्युरीको बहस हुदै
काठमाडौं , १३ पुस । सर्वाेच्च अदालतमा स्थानीय तहको निर्वाचनको मागसहित दायर रिट निवेदनमा आज छ जना कानुन व्यवसायीले अदालतको सहयोगी (एमिकस क्युरी) का रूपमा बहस गर्ने भएका छन । नेपाल बार एसोसिएसन र सर्वाेच्च अदालत बार एसोसिएसनले तीन–तीन जना कानुन व्यवसायीलाई एमिकस क्युरीको रूपमा सिफारिस गरेको छ । एमिकस क्युरीले स्थानीय निकायको निर्वाचन संविधानतः मिल्ने नमिल्ने विषयमा तटस्थ रूपमा बहस गर्नेछ । न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र हरिकृष्ण कार्कीको इजलासले गत बुधबार नेपालको संविधानको धारा ३०३ बमोजिम स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न सकिने हो वा होइन भन्ने सम्बन्धमा गम्भीर संवैधानिक प्रश्न समावेश भएको भन्दै नेपाल बार र सर्वाेच्च बारबाट तीन–तीनजना एमिकस क्युरी बोलाउने आदेश गरेको थियो ।
सर्वाेच्च अदालतको आदेशानुसार नेपाल बारले वरिष्ठ अधिवक्तात्रय विपुलेन्द्र चक्रवर्ती, सुशीलकुमार पन्त र प्रेमबहादुर खड्कालाई एमिकस क्युरीको रूपमा सिफारिस गरेको छ । यस्तै, सर्वाेच्च अदालत बारले वरिष्ठ अधिवक्ताद्वय विश्वकान्त मैनाली र पूर्णमान शाक्य र अधिवक्ता शैलेन्द्र दाहाललाई सिफारिस गरेको छ । नेपालको संविधानबमोजिम स्थानीय तहको सङ्ख्या र क्षेत्र निर्धारणमा लामो समय लाग्ने सम्भावना रहेको दाबी गर्दै अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले स्थानीय तहको सङ्ख्या र क्षेत्र निर्धारण नभएसम्म स्थानीय निकायको निर्वाचन गराउन सरकारको नाममा आदेशको मागसहित रिट निवेदन दर्ता गराएका थिए । त्यसै निवेदनमा अधिवक्ता सुनीलकुमार पटेलले सरिक हुन छुट्टै निवेदन दिएका थिए ।