‘ एक साताभित्रै चुनावको मिति घोषणा ‘

२०७३ पुष १३ गते, बुधबार

काठमाडौं, १३ पुस । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले स्थानीय तहको निर्वाचन घोषणा गर्ने विषयमा सकारात्मक छलफल भएको बताइएको छ । तीन दलका नेताहरु निर्वाचन गर्न सहमत भएकाले सरकारले चाँडै मिति घोषणा गर्ने तयारी गरेको छ । बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले स्थानीय निकाय पुनःसंरचना आयोगले प्रतिवेदन तयार पारिसकेकाले तत्काल निर्वाचन घोषणा गर्नुपर्ने माग आफूहरुले राखेको बताए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनका विषयमा तीनै दल सहमत देखिएको बताए । उनले अबको एक साताभित्रै सरकारले स्थानीय तह वा निकाय जेको भए पनि चुनावको मिति घोषणा गर्ने जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी कानुन संसदमा एकैसाथ पेस गर्ने प्रस्ताव गरेका थिए । तर, निधिको प्रस्ताव एमालेले अस्वीकार गरेको थियो । एमालेले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेको छ भने कांग्रेस र माओवादी केन्द्रले संसदबाटै टुंग्याउनुपर्ने बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]