आज राष्ट्रिय मेलमिलाप दिवस
काठमाडौं, १६ पुस । आज पुस १६ अर्थात् ४१ औं राष्ट्रिय मेलमिलाप दिवस । आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालासहित गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो ।
त्यसपछि २०२५ सालमा विपी सहितका कांग्रेस नेता भारत प्रवासमा गएका थिए । तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका कांग्रेस नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए । बीपी कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको भएको यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।
त्यतिबेला तत्कालीन राज्यसत्ताले उनलाई फाँसीको सजायँसम्म दिनसक्ने परिस्थितिको पर्वाह नगरी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । आज पनि देशलाई संकटबाट मुक्त गर्न राष्ट्रिय मेलमिलापको सन्देश उत्तिकै सान्दर्भिक रहेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् ।