नेवाः एकता सभा हुने
काठमाडौँ, १९ पुस । नेवाः स्वायत्त राज्य मंकाः सङ्घर्ष समितिले आन्दोनलका रूपमा पुस २३ गते बृहत् नेवाः एकता सभा आयोजना गर्ने भएको छ । विभिन्न राजनीतिक पार्टीको भ्रातृ सङ्गठन रहेको उक्त समितिले यहाँस्थित सोमबार पत्रकार सम्मेलन गर्दै पाटनको मङ्गलबजारमा दिउँसो १ बजे एकता सभा गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा नेवाः स्वायत्त राज्य मंकाः सङ्घर्ष समितिका अध्यक्ष माइलाबाबु द्यःलाले संविधान संशोधन हुँदा सङ्घीयतामा नेवाः स्वायत्त राज्यसहितको अधिकार प्रत्याभूत गर्न दबाबस्वरूप एकता सभा गर्ने निर्णय भएको जानकारी गराए । उनले संयुक्त राष्ट्रसङ्घ र नेपालको नयाँ संविधानले प्रत्याभूत गरेका अधिकारलाई बेवास्ता गर्दै राज्यले स्थानीय बासिन्दाको हकअधिकार खोसेर नयाँ भौतिक निर्माण गरिरहेको आरोप लगाए ।
यसैबीच, पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा राज्य पुनःसंरचना आयोगले प्रस्तुत गरेको अवधारणा र प्रदेश सङ्ख्या तोक्नुपर्ने, विगतमा आदिवासी जनजाति र राज्यबीच भएको सम्झौता कार्यान्वयन हुनुपर्ने, स्थानीय निकाय पुनःसंरचना गर्दा स्थानीय परिचयलाई प्राथमिकता दिनुपर्ने, भूकम्पपीडित परिवारलाई जनही १० लाख रुपियाँ अनुदान दिनुपर्ने, बसपार्कमा बन्न लागेको भ्यु टावर र बाहिरी चक्रपथ निर्माण गर्न नहुने विषयका माग उल्लेख गरिएको छ