एमाले सांसदद्वारा राष्ट्रिय एकता दिवस मनाउन आग्रह
काठमाडौं, २६ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसकोरुपमा मनाउन सांसदबाट माग भएको छ । व्यवस्थापिका–संसदमा मंगलबारको शून्य समयमा भाग लिँदै नेकपा एमालेका नेता प्रकाश ज्वालाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको संस्मरणमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन सरकारसँग माग गरे । स–साना राज्य रजौटामा विभाजित नेपाललाई एकीकरण गरेका शाहको जन्म वि.सं. १७७९ पुस २७ गते भएको थियो ।
बैठकमा भाग लिने अरु सांसदले भूकम्पपीडितलाई अनुदान, द्रुतमार्ग निर्माण, सिँचाइ र स्वास्थ्यलगायतका आ–आफ्ना जिल्ला र निर्वाचन क्षेत्रका समस्याप्रति सरकारको ध्यान आकृष्ट गरेका थिए । बैठकमा तेजुलाल चौधरी, दीपक कार्की, दुलारी हरिजन, धनबहादुर रायमाझी, धन पहरी, ध्यानगोविन्द रञ्जित, नरदेवी पुनमगर, पुरुषोत्तम पौडेललगायतले शून्य समयमा भाग लिएका थिए । – रासस