पूर्वराजा ज्ञानेन्द्रलाई शीतल निवासको निम्तो

२०७३ माघ ३ गते, सोमबार

काठमाडौं, ३ माघ । केही समययता मुलुक र राष्ट्रियतामाथि खतरा बढेको भन्दै विभाजनकारी शक्तिहरूलाई परास्त गर्न जनतालाई अपिल गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेमा अतिथिका रूपमा आमन्त्रित गरिएका छन् । २०६३ सालयता राष्ट्रिय राजनीतिमाथि एकाधिकार जमाउँदै आएका राजनीतिक शक्तिहरूद्वारा पूर्वराजालाई गरिएको सामाजिक र राजनीतिक बहिष्कार समाप्तिको सुरुआत राष्ट्रपति भण्डारीद्वारा गरिएको संकेतका रूपमा यसलाई राजनीतिक वृत्तमा बुझिएको छ ।
२०६५ जेठ १५ गते पहिलो संविधानसभाको पहिलो बैठकमा राजसंस्था उन्मूलन भएको घोषणा गरी ज्ञानेन्द्र शाहलाई बिनाकुनै औपचारिक बिदाइ नारायणहिटी राजदरबार छाड्न बाध्य पारिएको थियो । त्यसपछि पूर्वराष्ट्राध्यक्षका रूपमा उनलाई कुनै पनि सम्मान उपलब्ध गराइएको थिएन ।
राष्ट्रपति भण्डारीद्वारा पठाइएको कार्डमा उनलाई पूर्वमहाराजाधिराजकै हैसियतमा आमन्त्रण गरिएको स्रोतले बताएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादव सोमबार चौध महिनापछि शीतलनिवास प्रवेश गर्दैछन् । तर यसपटक उनी पूर्वराष्ट्रपति वा कुनै संवैधानिक हैसियतमा नभई राष्ट्रपति भण्डारीका कुटुम्ब (सम्धी) का रूपमा शीतलनिवास जान लागेका हुन् । उनी आफ्ना नाति अभिषेक यादवको जन्ती लिएर विवाह समारोहमा सहभागी हुनेछन् । जननेता मदन भण्डारी र गणतन्त्र नेपालकी दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमसँग रामवरणका नाति अभिषेकको विवाह समारोह सोमबार शीतलनिवासमै हुने भएकाले उनी परिवारको अभिभावकत्व ग्रहण गर्दै जन्ती बनेर जान लागेका हुन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]