पूर्वराजा ज्ञानेन्द्र शीतल निवासमा
काठमाडौं, ३ माघ । पूर्वराजा ज्ञानेन्द्र शीतल निवास पुगेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुमको विवाहमा सहभागी हुन उनि त्यहा पुगेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा निशाकुसुम र अभिशेष यादवसँग विवाह भइरहेको हो । अभिशेष पूर्वराष्ट्रपति डा. रामवरण यादवका नाती हुन् ।
पूर्वराष्ट्रपति डा. यादवकी भतिजी तथा कांग्रेस सांसद किरण यादवका छोरा अभिशेष ५१ जना जन्तीसहित राष्ट्रपति निवासमा पुगेका हुन् । वैवाहिक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी भएका छन् । उनी करिब २० मिनेटसम्म वैवाहिक कार्यक्रममा सहभागी भइ वर–बधुलाई शुभकामना दिएर फर्किएका छन् । पूर्वराजा शाह देशमा गणतन्त्र आएपछि पहिलोपटक विवाहको निम्तो स्वीकार गर्दै शीतल निवास पुगेका हुन् ।
त्यसैगरी, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरु वैवाहिक कार्यक्रममा सहभागी भएका छन् । सहभागीका लागि दिवाभोजको व्यवस्था गरिएको छ । निशाकुसुम र अभिशेषबीच बूढानीलकन्ठ स्कुलमा पढ्दादेखिकै साथी भएको बताइएको छ । उनीहरुबीच सात वर्ष लामो प्रेमसम्बन्ध विवाहमा परिणत भएको हो ।