‘क्रान्ति र गैरक्रान्तिबीच धु्रवीकरण बन्दै गएको छ ‘
काठमाडौं, ८ माघ । नेकपा (माओवादी) प्यूठानको चौथो जिल्ला सम्मेलन सुरु भएको छ । उक्त सम्मेलनलाई सम्बोधन गर्दै माओवादी स्थायी कमिटी सदस्य तथा जनपरिषद् प्रमुख सन्तोष बुढामगरले क्रान्ति र गैरक्रान्तिबीच धु्रवीकरण बन्दै गएको बताएका छन् । उनले नक्कली माओवादी बनेर क्रान्तिलाई धोका दिएकाले एकीकृत जनक्रान्ति सुरु गरेको ठोकुवा गरेका छन् । दस वर्षे जनयुद्ध लडेर राजनीति उपलव्धिलाई संसदीय व्यवस्थाले गुमाउँदै गएकाले गैरसंसदीय कम्युनिस्टहरू एक हुनुको विकल्प नरहेको उनको ठम्याई छ । अधुरै रहेको क्रान्तिलाई पूरा गर्न आफ्नो पार्टी एक ढिक्का भएर जनतामाझ पुग्ने उनले बताए । माओवादी उद्गमस्थल रोल्पाको थबाङमा जन्मिएका बुढामगरले संसदीय क्रान्तिमा लागेर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले जनतालाई धोका दिएको दाबी गरे । ‘दलाल संसदीय व्यवस्थाले पुरानै सत्ताको पक्षपोषण गर्छ,’ उनले भने, ‘यसलाई परास्त गर्न दशवर्षे जनयुद्ध लड्यौं तर मूल नेतृत्वले नै धोका दिए ।’ उनले एकीकृत जनक्रान्ति सफल पारेर नेपालमा वैज्ञानिक समाजवाद लागू गर्ने उद्देश्यसाथ आफ्नो पार्टी लागिरहेको समेत उद्घोष गरे । राष्ट्रियता रक्षाका लागि नयाँ पार्टी आवश्यक रहेकाले संसदीय व्यवस्थाको माओवादीसँग अलग हुनुपरेको स्पष्ट गरेका छन् ।