राप्रपा राष्ट्रिय अध्यक्षमा लोहनी आउने
काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराको समयावधि मंगलबार (आज)देखि सकिएको छ । तत्कालीन राप्रपामा लागू गरिएको चक्रीय प्रणालीअनुसार लोकेन्द्रबहादुर चन्द, राणा र वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले क्रमशः पार्टीको नेतृत्व करिब ६–६ महिना लिने सहमति भएअनुसार चन्दले पार्टी अध्यक्षको जिम्मेवारी पूरा गरेपछि साउन ११ देखि अध्यक्ष भएका राणाको पनि ६ महिनाको अवधि पूरा भएको छ ।
सो पार्टी र राप्रपा नेपालको एकीकरण हुनुअगावै राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समितिको निर्णयानुसार राणाको पद मंगलबारदेखि लागू हुने गरी सकिएको हो ।
तत्कालीन राप्रपामा राणापछिको नेतृत्व वरिष्ठ नेता डा. लोहनीले गर्ने सहमति भएको लोहनीका प्रेस सहयोगी जनक पाठकले जानकारी दिए । दुबै पार्टी एकीकरण हुँदा पनि सो विषयलाई प्राथमिकतामा राखिएको थियो ।
नयाँ अध्यक्षका लागि पार्टीका वरिष्ठ नेता डा. लोहनीले राष्ट्रिय पदको जिम्मेवारी मंगलबारैदेखि लिनुपर्ने भएपनि पार्टी अध्यक्ष कमल थापा काठमाडौंबाहिर रहेकाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार नबस्ने भएको छ ।
गत मंसिर ६ गते दुबै पार्टी एकीकरण भएर बनेको राप्रपाको बुधबार बस्ने बैठकले डा. लोहनीलाई अध्यक्षकारुपमा अनुमोदन गर्ने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । पार्टी महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म स्थानीय भृकुटीमन्डपमा हुने भएको छ । सोका लागि आवश्यक तयारीका कार्य जारी छ ।
महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेकाले नयाँ अध्यक्ष डा. लोहनीले करिब एक महिनामात्र पार्टीलाई नेतृत्व दिनेछन् । उनले बुधबार आफ्नो कार्ययोजना सार्वजनिक गर्नेछन् । महाधिवेशनमा आगामी नेतृत्व सर्वसम्मतरुपमा छनोट गर्न देशभर नै सहमतिबाट प्रतिनिधि छनोटको प्रयास भइरहेको छ । पार्टीको यही माघ ७ देखि १५ गतेसम्म देशभर वडा, गाउँ र नगरको अधिवेशन जारी छ । महाधिवेशनका लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५०१ सदस्य रहेको एकता महाधिवेशन व्यवस्थापन मूल समारोह समिति गठन भइसकेको छ । सोही प्रयोजनका लागि प्रचार–प्रसार, मञ्च व्यवस्थापन, सुरक्षा व्यवस्थापन, अतिथि स्वागत् तथा व्यवस्थापनलगायत १२ उपसमिति गठन भएका छन् । पार्टीका नेता देवेन्द्र प्रधानकाअनुसार देशभर साधारण सदस्य वितरण तथा तल्लो तहदेखि प्रतिनिधि छनोटको प्रक्रिया सुरु भइसकेको छ । आगामी फागुन २ गतेसम्म देशभरबाट प्रतिनिधि छनोट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने बताइएको छ । – कृष्णराज गौतम , रासस