तत्काल राजदुत नियुक्त गर्न दिर्नेशन
काठमाडौं,१८ माघ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकले राजदूत रिक्त भएका मुलुकमा तत्काल नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ । राजदूत रिक्त भएका मुलुकमा पुगेका नेपालीले धेरै दुःख पाइरहेको भन्दै तत्काल नियुक्त गर्न निर्देशन दिएको हो । बैठकमा समितिका सदस्यहरुले सरकारले राजदूत नियुक्त गर्न ढिलाई गरेका कारण अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि नराम्रो बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकमा सहभागी परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले भने रिक्त भएका राजदूत नियुक्तिको गृहकार्य भइरहेको जानकारी दिए । उनले अब छिट्टै राजदूत नियुक्त गर्ने बताए ।
पराष्ट्रमन्त्री डा. महतले राष्ट्रिय आवश्यकतामा केन्द्रित रहने नीति सरकारले लिएको भन्दै राष्ट्रिय हितमा प्रतिकूल असर पर्ने गरि कुनै पनि राष्ट्रसँग सन्धि–सम्झौता नगर्ने स्पष्ट पारे । भारत सरकारको सहयोगमा निर्माण हुने भनिएका आयोजनाले निरन्तरता नपाएको विषयमा छलफल गर्न दुवै राष्ट्रका उच्च अधिकारीहरुबीच छलफल भइरहेकाले छिट्टै सकारात्मक परिणाम आउने विश्वास उनले व्यक्त गरे ।
परराष्ट्रमन्त्री डा. महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि दुई देशबीचको तिक्तता समाप्त भएको दाबी पनि गरे । उनले छिमेकी राष्ट्र चीनसँगको सम्बन्धलाई पनि सुदृढ गर्नेतर्फ पहल भइरहेको र चीनले सीमा नाका खोल्ने प्रतिबद्धता व्यक्त गरिसकेको बताए । अर्को एक प्रसंगमा मन्त्री डा. महतले ठूलो संख्यामा नेपाली कामदार रहेका मुलुकमा श्रमसम्बन्धी नयाँ सम्झौता गर्न श्रम मन्त्रालयलाई निर्देशन दिइएको बताए ।