अनसनरत पत्रकारको अवस्था नाजुक
काठमाडौं, १६ फागुन । नेपाल पत्रकार महासंघको गेटमा ताला लगाएर ६ दिनदेखि अनसन बसेका पाँचथर शाखाका अध्यक्ष लवदेब ढुंगाना र इलाम शाखाका सदस्य प्रेम अधिकारीको अवस्था चिन्ताजनक बन्दै गएको छ । विभिन्न माग राखेर महासंघको ढोकामै अनसनरत दुई जना पत्रकारलाई स्लाइनपानी चढाइएको छ । नेपाल पत्रकार महासंघले गैरपत्रकारलाई सदस्यता दिएकाले त्यस्तो सदस्यता खारेज गर्नुपर्ने, एकपक्षीय रुपमा गरिएको पाँचथर, इलाम र ताप्लेजुङको अधिवेशन खारेज गर्नुपर्ने, महासंघ शाखा र प्रतिष्ठानको अधिवेशन स्थगित गर्नुपर्नेलगायतका माग राखेर उनीहरु अनसनमा बसेका हुन् । उनीहरुले आफ्ना माग सुनुवाई नभएसम्म अनसन जारी राख्ने बताएका छन् । अनसनकारीहरुले पत्रकारका हक, हितका विषयमा महासंघ गम्भिर नभएको र महासंघलाई राजनीतिकरण गरिएको आरोप पनि लगाएका छन् ।