सप्तरी बन्द जारी
काठमाडौँ, २६ फागुन । प्रहरीको गोली लागेर सप्तरीमा चारजना मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अह्वान गरेको अनिश्चितकालीन बन्द कार्यक्रमअन्तर्गत बिहीबार चौथो दिन पनि यहाँको जनजीवन प्रभावित भएको छ । मोर्चाको बन्दको कारण सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, कल्याणपुर र रुपनीलगायतका ठाउँमा यातायात ठप्प रहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलका अनुसार प्रहरीको गोली लागेर चारजना मोर्चाको कार्यकर्ताको मृत्यु भएको र प्रहरीले दमन गरेको विरोधमा सप्तरी जिल्ला अनिश्चितकाल बन्द कार्यक्रमअन्तर्गत जिल्लामा यातायात, कलकारखाना, उद्योगधन्दा, शौक्षिक संस्थालगायत बन्द गराइएको हो । बन्द सफल गराउन आक्रोशित मधेसी मोर्चा कार्याकर्ता बिहानैदेखि ठाउँ ठाउँमा प्रदर्शन गरेका छन् ।
नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा आयोजना गरिएको जनसभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार झडप भएको थियो । – रासस