एसएसबीको गोली प्रहरवाट गौतमको मृत्यु

२०७३ फाल्गुन २६ गते, बिहीबार

काठमाडौँ, २६ फागुन । कन्चनपुरको नेपाल–भारत सीमा क्षेत्र पुनर्वासमा प्रदर्शन गरिरहेका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली प्रहर गरेको छ । एसएसबीको गोली प्रहरवाट पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सीपी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । भारतीयको गोली लागेर अरु चारजना नेपालीहरु घाइतेसमेत भएका छन् । पुनर्वासको दशगजा क्षेत्रमा कल्भर्ट बनाउने विषयमा विवाद हुँदा भारतको सम्पूर्णनगरका प्रहरी निरीक्षकले नेपालीहरुमाथि गोली प्रहार गरेको जनाइएको छ ।
जंगेपिलरसमेत हराइसकेको सो क्षेत्रमा हालका लागि खोलामाथि कच्ची कल्भर्ट निर्माण गर्ने सहमति केही समयअघि नेपाली र भारतीय अधिकारीहरुबीच भएको थियो । सोही सहमतिअनुसार पुनर्वास नगरपालिकाले बुधबार (हिजो)देखि कल्भर्ट बनाउन थालेकोमा भारतीय एसएसबीले भत्काएको थियो । गएराति हतियारसहित नेपाल छिरेका एसएसबीका जवानहरुले स्थानीय नेपालीहरुलाई घर छाडेर जान धम्क्याएको पनि स्थानीयले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]