नेपाल बन्दको प्रभाब सामान्य
काठमाडौं, फागुन २७ । मधेशी मोर्चासहितको संघीय गठबन्धनले आह्वान गरेको आजको नेपाल बन्दको प्रभाव सामान्य परेको छ । सप्तरी घटनाको विरोधमा गरिएको नेपाल बन्दको प्रभाब काठमाडौंमा खासै नपरे पनि तराई मधेशका जिल्लाहरु भने ठप्प रहेका छन् । काठमाडौंका सडकमा सार्वजनिक र निजी सवारी साधन चलिरहेका छन् । बजार पसल पनि खुलेका छन् । तर, मधेशका जिल्लाहरुमा भने सवारीसाधन चलेका छैनन् । यातायात, शैक्षिक संस्था, उद्योगधन्दा कलकारखाना पनि ठप्प छन् ।
सोमबार सप्तरीमा प्रहरीको गोली लागेर चारजना मधेशी मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा मोर्चासहितको संघीय गठबन्धनले नेपाल बन्द आह्वान गरेको हो । घटनापछि सप्तरी लगातार बन्द छ । जसबाट सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।
गठबन्धनले मृतकलाई शहीद घोषणा, मृतकका परिवारलाई राहत, घटनाको न्यायिक छानविन र दोषीमाथि कारबाहीको माग गर्दै विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सरकारले सप्तरी घटनाका मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत रकम दिने, न्यायिक छानबिन आयोग गठन गर्ने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भने गरिसकेको छ ।