भारतीय नम्बर प्लेटका सवारी साधनमा रोक
काठमाडौं, २७ फागुन । भारतीय सुरक्षाकर्मीको गोलीबाट नेपाली मारिएपछि कञ्चनपुरमा भारतीय नम्बर प्लेटका सवारी साधनमा रोक लगाइएको छ । असहज परिस्थिति सृजना भएको भन्दै दैनिक रुपमा सीमावर्ती क्षेत्रमा आउने भारतीय नम्बर प्लेटका सबै सवारी साधनमा प्रहरी प्रशासनले रोक लगाएको हो । सीमा नाका गड्डाचौकी, दोधारा चाँदनी, ब्रह्मदेव, बेलौरी, पुनर्वासलगायतका सीमा नाकाबाट सवारी साधन आवागमनमा रोक लगाइएको हो । बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका ८ को सीमावर्ती क्षेत्र आनन्द बजारमा कल्भर्टको विषयमा स्थानीयले गरेको प्रदर्शनमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक जना नेपाली मारिएका थिए । सोही घटनाबाट आक्रोशित विभिन्न दल र भ्रातृ संगठनले बिहीबार साँझ घटनाविरुद्ध विरोध र्याली समेत निकालेका थिए भने भारतीय नम्बरप्लेटको एउटा मोटरसाईकलमा आगजनी र चारवटा सवारी साधन तोडफोड गरेका थिए ।