मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउदै
काठमाडौ, ३ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसदलाई बुझाउने भएको छ । मोर्चामा आवद्ध दलहरुले छुट्टाछुट्टै सभामुख ओनसरी घर्तीलाई समर्थन फिर्ता लिएको पत्र बुझाउने ती दलका नेताहरुले जनाएका छन् । सरकारले बहुमत जुटाई संविधान संशोधन प्रस्ताब पारित गर्ने कसरत जारी राखेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले हिजो सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता पठाएर राप्रपा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसदलाई मन्त्री बनाउने तयारी गरिरहेका बेला मोर्चाले भने समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।
मोर्चाका नेता महेन्द्र राय यादवले आजबाट लिखित पत्र दिएर समर्थन फिर्ताको जानकारी गराउने बताए । वर्तमान सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको उनले बताए । मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरमले भने हिजो नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।