वैद्य पनि भोटको राजनीतिमा
काठमाडौं, २३ वैशाख । दोस्रो संविधानसभा निर्वाचनको अवधिमा आमहडताल घोषणा गरी बहिस्कारमा उत्रिएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पनि स्थानीय तह निर्वाचनमा सहभागिता जनाउने भएकोे छ । सो पार्टीले आफ्नै नाममा निर्वाचनमा भाग नलिएपनि नेता सीपी गजुरेलको नेतृत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरेर त्यसैको नाममा चुनावमा भाग लिइरहेको छ । संसदमा प्रतिनिधित्व नगरेकै कारण सो दलले चुनाव चिह्नसमेत पाएको छैन । पार्टीको चुनाव चिह्न नपाएपछि सो दलका उम्मेदवारले स्वतन्त्र हैसियतमा फरक–फरक चिह्न लिएर चुनावी मैदानमा उत्रिएका छन् । सो पार्टीका अध्यक्ष मोहन वैद्यले शनिबार जारी गरेको विज्ञप्तिमा पार्टीले स्थानीय तहको निर्वाचनमा भाग नलिएता पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललाई समर्थन गर्ने नीति लिएको जानकारी दिएका छन् ।
मोर्चाका उम्मेदवारको पक्षमा मतदान गर्नका लागि मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्र तथा बुद्धिजीवीसहित सम्पूर्ण उत्पीडित वर्ग र जनसमुदायसित अध्यक्ष वैद्यले अनुरोध गरेका छन् ।
नयाँ जनवादी क्रान्तिको तयारी गर्न, गलत राजनीतिको विरोध गर्न, भ्रष्टाचारीलाई दन्ड–सजाय दिन र जनताको सेवा गर्नका लागि स्थानीय निर्वाचन पनि एउटा उपयुक्त माध्यम हुनसक्ने आफूहरुले देखेको विज्ञप्तिमा उल्लेख छ । सो उद्देश्यमा सहयोग पुर्याउनका लागि मोर्चाका उमेदवारलाई मत दिइ विजयी बनाउन सबैसँग वैद्यले आग्रह गरेका छन् । माओवादी केन्द्रबाट छुट्टिएर गएको क्रान्तिकारी माओवादीले सो पार्टीसँग स्थानीय तहको निर्वाचनमा तालमेल गर्न भने अस्वीकार गरेकोे छ ।
माओवादी केन्द्रका नेता मणि थापाले तालमेलका लागि क्रान्तिकारी माओवादीले इच्छा नदेखाएकाले सो विषयमा छलफल हुन नसकेको जानकारी दिए ।
उनले भने–‘हामी तामलेलका लागि तयार छौं, तर उहाँहरु चुनाव जित्नेभन्दा पनि विचारको रक्षा गर्छौं भन्दै हुनुहन्छ ।’
क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपासँग चुनावी तालमेल नगर्ने पार्टी नीति रहेको स्पस्ट पारे । उनले आफूहरु तीन कुरालाई मध्यनजरगरी निर्वाचनमा गएको जानकारी दिँदै भने–‘पहिलो निर्वाचनमार्फत् आफ्नो विचार जनतासमक्ष पुर्याउने, दोस्रो संगठन विस्तार गर्ने र तेस्रो जित्ने ठाउँमा नेतृत्व लिने लक्ष्य हो ।’ अहिले नीति र सिद्दान्तलाई बिर्सिएर दलहरुबीच भइरहेको चुनावी तालमेललाई आफ्नो पार्टीले राजनीतिक व्यापारकारुपमा लिएको उनको टिप्पणी छ । -रासस