सहमतीय सरकार गठनको समयसीमा सकिँदै
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपति भण्डारीले सहमतीय सरकार गठन गर्न गत बिहीबार दलहरुलाई सात दिनको समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समय सकिनै लाग्दासमेत दलहरुबीच सरकार गठनका विषयमा सहमति जुट्न सकेको छैन । यस विषयमा दलहरुबीच पर्याप्त छलफलसमेत हुन सकेको छैन ।
नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि मंगलबार सर्वदलीय बैठक आह्वान गरेको भए पनि नेकपा एमाले अनुपस्थित भएको थियो । प्रमुख प्रतिपक्षी दल नै बैठकमा अनुपस्थित भएपछि सहमतीय सरकार गठनको सम्भावना लगभग टर्दै गएको छ । संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत छ । आजसम्म सहमतीय सरकार गठनका लागि दलहरुबीच सहमति जुट्न नसके राष्ट्रपतिले बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढाउने छिन ।