‘लडागडा घटना नेपाली सार्वभौमसत्तामाथि भारतको ठाडो हस्तक्षेप’
काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले भारतीय प्रहरीका डीएसपी नागराजको टोली नेपाल प्रवेश गरी दीपायल सिलगडी नपा–८, लडागडाका लालबहादुर आउजीलाई बुधबार मध्यरातमा घरभित्रबाट अपरहण गरेको घटनाको भत्सर्ना गरेको छ । शुक्रबार क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाउँदै भत्सर्ना गरेका हुन् । लडागडा घटनालाई पार्टीले नेपाली सार्वभौमसत्तामाथि भारतको ठाडो हस्तक्षेप भएको बताएका छन् ।
घटनाका दोषीलाई कारवाही नगरी छाडिएको भन्दै सरकारको लम्पसारवादी चरित्र उदाङ्गो भएको विज्ञप्तिमा जनाइएको छ । क्रान्तिकारी माओवादीले भारतीय हस्तक्षेपको डटेर लड्ने बताउँदै घटनाको प्रतिरोध गर्न नागरिकसँग आह्वान गरिएको छ । साथै कामचलाऊ प्रचण्ड नेतृत्वको कठ्पुतली दलाल सरकारको राष्ट्रघाती चरित्रका विरुद्ध पनि जोडदार आवाज बुलन्द गर्न अपिल गरिएको छ ,।
यस बिषयमा क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ – “विना इजाजत वर्दीमा भारतीय प्रहरीका डीएसपी नागराजको टोली नेपाल प्रवेश गरी दीपायल सिलगडी नपा–८, लडागडाका लालबहादुर आउजीलाई बुधबार मध्यरातमा घरभित्र पसी, हातखुट्टा बाँधी मुखमा पट्टि बाँधेर अपहरण गरिएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ । यसलाई हाम्रो पार्टी नेपाली सार्वभौमसत्तामाथि भारतले गरेको ठाडो हस्तक्षेपको रुपमा कडा विरोध एवम् तीव्र भत्र्सना गर्दछ ।
भारतको यस्तो नाङ्गो हस्तक्षेप र ज्यादतीका विरुद्ध आवाज उठाउँदै दोषीउपर कडा कारबाही गर्नुको सट्टा सरकारको निर्देशनमा नेपाल प्रहरी प्रशासनको नियन्त्रमा रहेका भारतीय प्रहरीका डीएसपी नागराजसहितको टोलीलाई जनताको सूचनाको हकलाई कुण्ठित गरी गुपचुप रुपमा सिमामा पु¥याएर भारतीय पक्षलाई जिम्मा लगाएका समाचारहरु विभिन्न मिडियामा आएका छन् । यस घटनाबाट वर्तमान सरकारको लम्पसारवादी चरित्रलाई अझ उदाङ्गो पारिदिएको छ । भारतीय पक्षबाट नेपालको सार्वभौमिकतामाथि पटक पटक हुने गरेका यस्ता हस्तक्षेपकारी घटनामा भारतीय सरकारलाई सार्वजनिक रुपमा माफी मगाउन नेपाल सरकारले तत्काल पहल अगाडि बढाओस्, हाम्रो पार्टी जोडदार माग गर्दछ । साथै, एउटा सार्वभौम मुलुकमाथि पटक पटक हुँदै आइरहेका भारतीय हस्तक्षेप र ज्यादतीकाविरुद्ध डटेर प्रतिरोध गर्न स्वाभिमानी नेपाली नागरिकसँग हाम्रो पार्टी जोडदार आव्हान गर्दछ । र, भारतीय सत्तासिन वर्गसँग लम्पसार वर्तमान कठ्पुतली दलाल सरकारको राष्ट्रघाती चरित्रका विरुद्ध पनि जोडदार आवाज बुलन्द गर्न हार्दिक अपिल गर्दछ ।”