प्रधानमन्त्री देउवा पद तथा गोपनियताको सपथ लिंदै

२०७४ जेष्ठ २४ गते, बुधबार

काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनियताको सपथ लिंदैछन् । आज पौने दुईबजे राष्ट्रपति विद्या भण्डारीसमक्ष प्रधानमन्त्री देउवाले सपथ लिने कार्यक्रम तय गरिएको छ । उनले आज नै पदभार ग्रहण गर्दै सानो मन्त्रिपरिषद समेत बनाउने जनाइएको छ । पहिलो चरणमा कांग्रेस र माओवादी केन्द्रबाट तीन/तीन जना र फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदारसहितको मन्त्रीमण्डल बन्ने सम्भावना छ ।
यसअघि मंगलबार संसद भवन बानेश्वरमा भएको प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा भारी मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । देउवाको पक्षमा ३ सय ८८ सांसदले मत दिएका थिए भने विपक्षमा १ सय ७० मत परेको थियो । संसदमा ५ सय ९३ सदस्य कायम रहेकोमा प्रधानमन्त्री चयनको निर्वाचनमा ५ सय ५८ मत खसेको थियो ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम लगायतका दलहरु तथा केही स्वतन्त्र सांसदको मत देउवाले पाएका थिए । विपक्षमा भने नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजुदर किसान पार्टीलगायतका पार्टीका सांसदले भोट हालेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]