सयौ म्यादी प्रहरीद्धारा राजीनामा

२०७४ जेष्ठ २६ गते, शुक्रबार

काठमाडौं , २६ जेठ । स्थानीय तह निर्वाचनका लागि भर्ति भएका सयौ म्यादी प्रहरीले राजीनामा दिएका छन । जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार आगामी असार १४ गते हुने निर्वाचनका लागि खटियका रुकुमका १ सय ७८ जना म्यादी प्रहरीले राजीनामा दिएका छन् । उनीहरुले विभिन्न व्यक्तिगत कारण देखाएर राजीनामा दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक थम्मनवहादुर रजालीले बताए ।
कसैले विदेशका लागि भिसा आईसकेको भन्दै र केहीले खेतीपातीका लागि भन्दै राजीनामा दिएको उनको भनाई छ । सरकारले बैशाख ३१ गतेका लागि तोकेको स्थानीय चुनावका लागि भन्दै सुरुमा ५५ दिनका लागि भर्ति गरिएका म्यादी प्रहरी ५५ दिनको सेवा सुविधा लिएर बिदा भएको प्रहरी निरिक्षक रजालीले बताए ।
सरकारले दोस्रो चरणको निर्वाचन असार १४ गते गर्ने निर्णय गरेसंगै म्यादी प्रहरीको म्यादपनि थपिएको छ । स्थानीय तहको चुनावका लागि भन्दै जिल्लामा कुल ७ सय ८५ जना म्यादी प्रहरी भर्ति गरिएको थियो ।
थपिएको सयममा काम नगर्ने १ सय ७८ जना म्यादी प्रहरीको निर्णय पछि अव जिल्लामा ६ सय ७ म्यादी प्रहरी रहेका छन् । उनीहरुलाई दोस्रो चरणमा निर्वाचन हुने जिल्लाका ३ स्थानीय तहमा खटाईदै छ ।
एउटा मतदान केन्द्रमा १५ जनाका दरले ३१ ओटा मतदान स्थलमा म्यादी प्रहरी खटाईने र बाँकी रहेकालाई सरमुकाम तथा निर्वाचन भइसकेका अन्य मुख्य ठाउँहरुको सुरक्षाका लागि खटाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । असार १४ गते निर्वाचन हुने ठाउँका लागि प्रहरी सहित म्यादी प्रहरी पठाइसकिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]