‘ संविधान संशोधन र स्थानीय तह थप मान्य छैन’
काठमाडौ, १ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको संख्या थपघट, चूनाव अघि संविधान संशोधनबाहेकका राजपा नेपालका अन्य मागहरुप्रति सकारात्मक रहेको जनाएको छ । पार्टी अध्यक्ष केपी निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटि बैठकले राजपाका अन्य मागमा एमाले सकारात्मक रहेको निष्कर्ष निकालेको हो । एमालेले अहिले नै स्थानीय तहको संख्या थपघट, चूनाव अघि संविधान संशोधन मान्य नहुने निष्कर्ष समेत निकालेको छ । आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेहरुको उपचारको व्यवस्था गर्नेलगायतका मागहरुलाई सम्बोधन गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । बैठकले असार १४ गते तोकिएको स्थानीय तहको दोश्रो चरणको निर्वाचन सार्न खोजे आफुहरुलाई मान्य नहुने भन्दै तोकिएको समयमा नै चार वटै प्रदेशमा निर्वाचन गर्नुपर्ने जनाएको छ ।
सरकारको नेतृत्व तहबाटै निर्वाचनको मितिका बारेमा भ्रमपूर्ण वक्तव्यहरु सार्वजनिक गर्ने, निर्वाचनका बारेमा अनिश्चय सिर्जना गर्ने अभिव्यक्तिप्रति बैठकले आपत्ति जनाएको सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकले निर्वाचनको तयारी र प्रचार–प्रसारका काममा अझै एकताबद्ध रुपमा अघि बढ्न पार्टीको सिंगो पंक्तिलाई पुनः निर्देशन गरेको उहाले जानकारी दिए ।