आज पूर्वका नौं जिल्ला बन्द
काठमाडौ, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको वन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । परिषदको बन्दका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा यातायात र बजार पसल ठप्प रहेका छन् । प्रेस, कूटनीतिक नियोगका गाडी, दमकल र एम्वुलेन्सबाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । बजार, पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन् । साउन २२ गतेलाई कालो दिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज ९ जिल्ला बन्द आह्वान गरेको हो । बन्दलाई लिम्बुवान क्रान्तिकारी पार्टीले पनि ऐक्यवद्धता जनाएको छ ।
१८३१ साल साउन २२ गते कै दिन लिम्बुवानको तत्कालिन गोर्खासँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई परिषदले कालो दिनको रुपमा मनाउँदै आएको छ । २०६६ सालदेखि आजैको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गर्दै आएको हो ।