देवेन्द्र पौडेलसहितका नेतालाई स्पष्टीकरण दिन निर्देशन
काठमाडौं, २८ साउन । नयाँ शक्ति पार्टी नेपालले सो पार्टीका नेता देवेन्द्र पौडेललगायतका १५ जना नेतालाई पार्टी हितविपरीत कार्य गरेको भन्दै २४ घन्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । सो पार्टीका संयोजक डा. बाबुराम भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्तिमा पार्टीका संघीय परिषद् सदस्य पौडेलसहित १५ जनाले बिहीबार पत्रकार सम्मेलन गरी पार्टीको विचार, नेतृत्व र कार्यदिशाकाबारेमा विभिन्न भ्रामक धारणा सार्वजनिक गरेको उल्लेख छ । विज्ञप्तिमा उनीहरुको राजनीतिक उद्देश्य र नियतप्रति पार्टीलाई गम्भीर आशंका उत्पन्न भएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘पार्टी र उहाँहरुको बुझाइबीच कुनै जोड–कोणको भिन्नता रहेछ भने छलफल गर्न सकिन्छ । अन्यथा पार्टीको वैकल्पिक राजनीतिक चरित्र र पार्टी हितविपरीत हुने कुनै क्यारियरिष्ट तथा अवसरवादी सोचलाई पार्टीले सहन गर्नसक्ने छैन ।’
भर्खरै सम्पन्न पार्टीको संघीय परिषद् बैठकमा १५ जना नेताहरुले कुनै फरक धारणा दर्ज नगराएको तथा पार्टी संयोजकका तर्फबाट प्रस्तुत् राजनीतिक प्रतिवेदनप्रति पूर्ण सहमति जनाएको विज्ञप्तिमा जनाइएको छ ।- रासस