प्रधानमन्त्री देउवा राजनीतिक भेटवार्तामा

२०७४ भाद्र ८ गते, बिहीबार

काठमाडौं, ८ भदौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले महत्वपूर्ण भेटवार्ता व्यस्त रहेको बताइएको छ । प्रधानमन्त्री देउवा राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थल पुगेर गान्धीप्रति श्रद्धाञ्जली ब्यक्त गरेपछि औपचारिक भेटघाटका कार्यक्रम शुरु हुनेछन् । राजघाटबाट प्रधानमन्त्री देउवा हैदरावाद हाउस पुग्नेछन् जहाँ उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै भेटवार्ता गर्नेछन् । हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा प्रतिनिधिमण्डलबीच वार्ता हुने कार्यतालिका छ । आजै बेलुका प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
यसैगरी आजै दुवै देशका प्रधानमन्त्रीले कटैया–कुशाहा र रक्सौल–परवानीपुर प्रसारण लाइनको रिमोट कन्ट्रोलबाट उद्घाटन गर्ने कार्यक्रम छ । द्विपक्षीय वार्तामा प्रधानमन्त्री देउवाले प्रतिवन्धित ५ सय र हजार दरका भारतीय नोट साटीदिन पनि आग्रह गर्ने बताइएको छ । त्यसैगरी लागू औषधको अवैध ओसारपसार र दुरूपयोग नियन्त्रण र गुणस्तर निर्धारणसम्बन्धी दुई देशबीचमा सम्झौता हुने तय भएको छ । बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग बुधबार साँझ आकस्मिक भेटवार्तासमेत गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]