नेताकार्यकर्ता गिरफ्तार र पार्टीविरुद्ध सुराकी नगर्न चेतावनी
काठमाडौं, १५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलालीले सरकारले सुराक परिचालन गरेर बिनाकारण आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गरी हिरासतमा राखेको भन्दै आपत्ति जनाएको छ । नेकपा कैलाली सेक्रेटरी सत्यले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले प्रहरी लगाएर पार्टीका नेता कार्यकर्तालाई दमन र सुराक लगाई गरेको गिरफ्तारको भत्सर्ना गर्दै गिरफ्तार सम्पूर्णको बिना सर्त तुरुन्त रिहा गर्न सरकारसँग माग गरेका छन् ।
सत्यद्वारा शुक्रबार जारी उक्त विज्ञप्तिअनुसार कात्तिक ३० गतेदेखि हालसम्म जिल्लाका बाह्र जना नेता र कार्यकर्तालाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको उल्लेख गरेका छन् । उनले सरकारले गरिरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई ‘दलाल संसदीय चुनाव’को संज्ञा दिँदै राजनीतिक विचारकै आधारमा आफ्ना पार्टीलाई लक्षित गरेर समाजमा राज्यआतंक फैलाएको बताएका छ ।
नेपाल कम्युनिष्ट पार्टी कैलालीका सेक्रेटरी सत्यले जारी गरेको प्रेस बिज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “नेपाल कम्युनिष्ट पार्टी, कथित दलाल संसदीय चुनाव खारेजी अभियानमा रहेको अवगत नै छ,दलाल र उनका मतियारहरुले फरक राजनीति बिचार भएका कारण घर बसिरहेका नेता कार्यकर्ता लाई गिरफ्तार गरि राज्य आतंक मच्चाएको जग जाहेर छ,कार्तिक ३० देखि विभिन्न मितिमा कैलाली जिल्ला ईन्चार्ज रामबहादुर चौधरी क.महान,सेती ब्यूरो सदस्य क.प्रकाश मल्ल ,क.मीन राज गिरि ,जिल्ला सदस्य हरु क.तपेन्द्र रसाइली क.जित ब.घर्ती मगर,क.सितल,क.सौगात क.ध्रुब सज्यांल ,लामो समय बाट बिरामी भै घर बसी उपचार गरिरहेका क.देब कठायत र क.लक्षमण सेट्टी,बिद्यार्थी नेता महेश पातली ,लोकमान भन्डारी लगायत का नेता कार्यकर्ता लाई बिना कारण आफ्नै काम र घरमा रहेको बेला गिरफ्तार गरि कथित शान्ती सुरक्षा को बहाना मा झुट्टा मुद्दा लगाउने षडयंत्र गरेको प्रती गम्भीर आपत्ति प्रकट गर्दछु !
कथित लोकतन्त्र फलाक्ने हरुको बन्दुके गणतन्त्र र प्रजातन्त्र उदाङो भएको छ,संकटकाल झल्काउने गरि सुरक्षा निकाय को परिचालन र घर घर खोज तलास ले जिल्ला का सयौं नेता कार्यकर्ता घर छोड्न बाध्य पारिएको छ!आज सम्म बिना कुनै कारण १२जना पक्राउ गर्नु कायरता पुर्ण क्रियाकलाप प्रती सरोकारवाला सबै पक्ष को ध्यानाकर्षण गराउदै तुरुन्त बिनासर्त रिहाई को माग गर्दछु ! आम जनसमुदाय लाई त्रसित बनाई कथित सुरक्षा घेरा भित्र गरिने चुनाब बलपूर्व लादिएको दलाल संसदीय ब्यबस्था देशजनताको हितमा छैन र अस्विकार छ ! जिल्लामा भएका कतिपय गैर राजनैतिक कार्य सङ्ग हाम्रो पार्टीलाई जोडेर दुस्प्रचारको खन्डन गर्दै यस्ता भ्रममा नपर्न र झुटा प्रचार गर्ने र नेता कार्य कर्ता बिरुद्ध सुराकी गर्ने जो कसैलाई पनि नछोड्ने र यस्ता कुराको डटेर प्रतीरक्षात्मक प्रतिबाद समेत गर्न नेता कार्यकर्तालाई आव्हान गर्दछु ! बाध्यताले उतपन्न हुने परिस्थिति को जिम्मा सम्बन्धित राज्यपक्षको रहने समेत यस प्रेस बिज्ञप्त्ति मार्फत जानकारी गराउछु !”