कांग्रेस केन्द्रीय समितिको बैठक भोलि
काठमाडौं, १३ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार (भोलि) बस्ने भएको छ । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामकाबारेमा समीक्षा गर्न ती निर्वाचनपछि पहिलोपटक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसको बैठक बस्न लागेको हो । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रदेशको समानुपातिक सांसद चयन, राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिकाबारेमा छलफल हुन लागेको जानकारी दिए । निर्वाचनमा कांग्रेसको स्थिति कमजोर भएपछि समीक्षाका लागि पार्टीका नेताहरुले केन्द्रीय समितिको बैठक बोलाउन माग गरेपछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । कांग्रेसको २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति रहेको छ ।