पूर्व डिआइजी तथा सांसद नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी
काठमाडौं, १९ पुस । कार्यसम्पादन मूल्यांकनमा आफू पहिलो नम्बरमा रहेको दावी गर्दै सर्वोच्च अदालतमा पेस गरेको फारम किर्ते भएको अनुसन्धानमा पूर्वडिआइजी तथा ललितपुर १ का प्रतिनिधिसभा सदस्य नवराज सिलवाल औपचारिक रुपमा जोडिएका छन् ।
सर्वोच्चको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई पक्राउ गर्न पत्र काटेपछि सिलवाल किर्ते अनुसन्धानमा जोडिएका हुन् ।
किर्ते अनुसन्धानको नेतृत्व गरिरहेका काठमाडौं परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले अनुसन्धानको सिलसिलामा बुझ्नुपर्ने भएकाले सिलवाललाई पक्राउ गरी बुझाउन ललितपुर परिसरमा पत्र पठाएको पुष्टि गरे । ‘सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धानका लागि बुझ्नुपर्ने भएकाले सिलवालको स्थायी बसोबास रहेको जिल्लामा पक्राउ गरी बुझाउन पत्र पठाएका हौं,’ उनले भने । –नागरिक दैनिकबाट